झापा । झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ ।
जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, चारआली, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीन दिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो ।
लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयकरुपमा निस्कनेलाई प्रहरीले तयार गरेको लकडाउन सेलमा दुई घण्टासम्म उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, दिनभरि लकडाउन प्रभावकारी भए पनि बिहान र बेलुका चोक र बजारमा मानिसहरुको चहलपहल बढेपछि कडाइका लागि दमक प्रहरीको सक्रियता बढेको छ ।
बिनाकाम बाहिर निस्कनेलाई प्रहरीले बिहानैदेखि नियन्त्रणमा लिएर सामाजिक दुरी कायम गरी चौकमै दुई घण्टा उभिन लगाउन थालेको छ । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले लकडाउनको पालना गरी घरमै बसिदिन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।