विराटनगर । प्रदेश १ मा कोभिड-१९ परीक्षण सकिएका ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
प्रदेशभर हिजो, २ वैशाखसम्म ६५३ जनाको नमुना संकलन गरिएकोमा १२ जनाको रिपोर्ट आउन बाँकी छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणि रिजालका अनुसार प्रदेशमा २५१ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।
२३९ जनाको पीसीआर मेसिनमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको रिजालले बताए। १२ जनाको परीक्षण भइरहेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर विधिबाट परीक्षण भइरहेको छ।
४०२ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशका सबै जिल्लामा क्वारेन्टाइनमा बसिरहेका र विदेशबाट आएकाहरुको आरडिटी बिधिबाट परीक्षण भइरहेको छ।
अहिले कोभिड-१९ आशंकामा ४ महिला र ६ पुरुष विभिन्न अस्पतालको आइसोलेसनमा उपचार गरिरहेका छन्।