झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले क्वारेन्टाइनमा रहेका पाँच जना र होम क्वारेन्टाइमा रहेका दुई जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।
उनका अनुसार आरडीटी रिपोर्ट नेगेटिभ आएका पाँचै जना आज घर फर्किनेछन् । त्यस्तै, कतार र भारतको केरलाबाट आएका व्यक्तिको पनि रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टाइनमा अन्य दुई व्यक्ति रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव टेक्निसियन केशव अधिकारी, ल्याव असिस्टेन्ट नेत्र घिमिरे र दीपा श्रेष्ठको प्राविधिक सहयोगमा सातै जनाको आरडीटी परीक्षण गरिएको हो । अर्जुनधारामा १० वटा आरडीटी किट आएको थियो ।
यसैबीच, खाद्यान्न अभावले काँकरभिट्टाबाट ससुराली आएका ६ सदस्यीय एक परिवारलाई स्वास्थ्य शाखाले उद्दार गरी मेचीनगर फिर्ता पठाएको छ ।
मेचीनगर ६ निवासी एक परिवार खाद्यान्न अभाव भएको भन्दै अर्जुनधारा ३ स्थित ससुराली घर आएको खबर पाएपछि स्वास्थ्यकर्मीको टोली पुगेको थियो ।
स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार ती परिवारलाई मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यसमक्ष पुराएर विस्तृत जानकारी गराइएको थियो । नगरपालिकाले तत्काल ५० केजी चामलसहित खाद्यान्न उपलब्ध गराएको छ ।