विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो ।

सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५२६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । आज सुनसरीको हरिनगरामा परीक्षण गर्दा एक जना पुरुषमा पोजेटिभ आएको हो । बाँकी दुई जनाको पिसिआर विधिबाट गरिने परीक्षणमा नेगेटिभ देखिसकेको छ ।

पीसीआर विधिबाट गरिएका कूल ३७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौँमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

सबै उदयपुरको मस्जिदमा बस्दै आएकाहरु हुन् । संक्रमितमध्ये ११ भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । उनीहरुको उपचार प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालमा भइरहेको छ ।

आरडीटी विधिबाट जम्मा २१० महिला र १ हजार ३१६ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट भने ६८ महिला र ३०३ जना पुरुषको परीक्षण भएको हो । ५७ पुरुष र २८६ पुरुषको नतिजा भने नेगेटिभ आएको छ । स्वाब संकलन गरेको ल्याबमा ल्याएर गरिने परीक्षण विधि पीसीआर हो ।

कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म कूल ६०६ जना पुगेको छ । २० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ५ महिला र १७ पुरुषसहित २२ जना छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।