झापा । झापाको अर्जुनधारामा लकडाउन उल्लङ्घन गर्नेलाई रातिको समयमा पनि प्रहरी प्रशासनले छाडेको छैन ।
बिना कारण घरबाहिर निस्कने व्यक्तिलाई सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले राति पनि निगरानीमा राखेको छ । अर्जुनधारा ११ स्थित लक्ष्मीपुर मावि वरपर बिना कारण हिँडडुल गर्ने ३० जनाभन्दा बढीलाई बुधबार साँझ ७ बजेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टले जानकारी दिए ।
उनका अनुसार सोही बाटो भएर जाँदै गएको मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, पाँच लिटर घरेलु मदिरा पनि बरामद गरिएको बताइएको छ ।
सशस्त्र प्रहरीले अर्जुनधारा नगरपालिका क्षेत्र, बिर्तामोड र कनकाई नगरपालिका क्षेत्रमा समन्वय गर्दै लकडाउन पालना गर्न विभिन्न सहकार्य गर्दै आएको छ भने अनाधिकृतरुपमा चलाइएका दुई वटा टिपर, ट्याक्टर नियन्त्रणमा लिएको छ ।