झापा । कोरोना भाइरस (कोभिड १९) बाट झापामा थप एक व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ ।
आज आइतबार विराटनगरको कोशी अस्पतालमा भएको कोरोना परीक्षणको नतिजाअनुसार नयाँ संक्रमित संख्या एक आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ६ः३० बजे प्रेसित विज्ञप्तिमा नयाँ संक्रमित व्यक्ति झापा निवासी ५० वर्षीय पुरुष भएको उल्लेख छ । उनको अवस्था सामान्य रहेको पनि जनाइएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनी अस्पतालको सम्पर्कमा रहेका छन् । तर, झापा कुन पालिकाका हुन् भन्ने विज्ञप्तिमा खुलाइएको छैन ।
स्राेतका अनुसार झापाको बाह्रदशीमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । झापामा भेटिएको यो दोस्रो केस हो । यसअघि दमकका ६२ वर्षीय पुरुषमा सङ्क्रमण भेटिएको थियो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ भने निको भएर १६ जना घर फर्किएका छन् ।