झापा । जारी लकडाउनका समयमा काठमाडौँबाट झापाको अर्जुनधारा घर फर्किएका व्यक्तिलाई नगरपालिकाले होम क्वारेन्टाइनमा राखेको छ ।

हिजो काठमाडौँबाट हिँडेका उनीहरुलाई यात्रु बसले अपराह्न शनिश्चरे बजारमा ल्याइपुर्याएको थियो । उनीहरुसँगै बुद्धशान्ति र माइ नगरपालिकाका व्यक्तिहरु पनि थिए ।

अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा र शनिश्चरे प्रहरी चौकीको टोलीले घरसम्म पुग्ने व्यवस्था गरेको थियो । अर्जुनधारा २ स्थित सहकालेका ९ जनालाई नगरपालिकाको गाडी, महिलाहरुलाई एम्बुलेन्समा राखेर पुराइएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

त्यस्तै, अर्जुनधारा ३ का दुइ जना पनि थिए । उनका अनुसार माइ नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका व्यक्तिलाई सम्बन्धित निकायसँग समन्वय गरी घर पठाइएको छ ।

अर्जुनधारा नगरपालिकाले हिजोदेखि नगरदेखि बाहिरका व्यक्तिलाई प्रवेश निषेध गरेको छ । नगरपालिकादेखि बाहिर रहेका यसै क्षेत्रका बासिन्दालाई भने आउन दिइएको छ तर उनीहरु १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ ।