झापा । जिल्लाको उत्तरी गाउँपालिका तथा नगरपालिका भएर बग्ने विभिन्न नदीहरुमा लकडाउनको समयमा पनि नदीजन्य सामग्री उत्खनन् तथा ओसारपसार रोकिएको छैन ।

अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका भएर बग्ने विरिङ नदीबाट गिटी बालुवा ओसार्न प्रयोग गरिएको तीन वटा ट्याक्टरलाई बिहीबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक मानबहादु कटुवालको नेतृत्वमा खटिएको गस्ती टोलीले अर्जुनधारा र बुद्धशान्तिको सिमानामा रहेको नदीबाट उक्त ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

बेस क्याम्पका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टका अनुसार मे. १ त ६२०६, ४०६१ र ५२७८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो । उक्त ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा पठाइएको उनले बताए ।

लकडाउनका समयमा मौका छोपेर चलाइएका ट्याक्टर र टिपरलाई यसअघि पनि सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर राखेको छ ।