काठमाडौँ । नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४ गते डिस्चार्ज गरिएको थियो ।
उनीहरू सबैसँग निरन्तर फोन गरेर अस्पतालले स्वास्थ्यसम्बन्धी जानकारी लिइरहेको थियो । ५ दिनपछि फलोअपमा बोलाएर रगत र घाँटीको र्यालको नमुना लिइएको थियो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा दुई जनामा पोजिटिभ देखिएको हो । उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
डा उपाध्यायले दुवै जनाको र्यालको नमुना आइतबार र मंगलबार पुनः संकलन गरेर काठमाडौं ल्याइएको छ । यसको रिपोर्ट आएको छैन । दुई जनामध्ये एक जना दिल्ली निवासी र अर्का रौतहटका हुन् । ‘ती दुवै पहिले र अहिलेसमेत कोरोनाको कुनै लक्षण नदेखिएका बिरामी हुन्,’ अस्पतालका डा। नीरज सिंहले भने, ‘उहाँहरूलाई पुनस् संक्रमण भएको हुन सक्छ तर यस्तो हुने सम्भावना शून्यप्रायः छ । शरीरमा मृत्यु भएको भाइरसको अंश देखिँदा पीसीआर रिपोर्ट पोजिटिभ आएको पनि हुन सक्छ ।’
डा सिंहले ती दुवै व्यक्तिबारे थप जान्न भाइरसको ‘कल्चर’ गर्नु आवश्यक रहेको बताए । तर उक्त कल्चर नेपालमा हुने गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले वीरगन्जमा निको भएका व्यक्तिमा पीसीआर पोजिटिभ देखिएको पुष्टि गरे ।
यस्तै, काठमाडौंको सनसिटीमा कोभिड–१९ पोजिटिभ देखिएका एक व्यक्तिलाई पाटन अस्पतालले फलोअपका लागि बुधबार बोलाएको छ । अस्पतालले ती व्यक्तिको र्यालको नमुना लिएर बुधबार पीसीआर परीक्षण गर्ने भएको छ । कोभिड–१९ का बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि पीसीआर मात्र नभई एन्टिबडीसमेत परीक्षण गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा श्रवणकुमार मिश्रले बताए ।
उनका अनुसार पीसीआरले बिरामीमा भाइरसको संक्रमण रहेको वा नरहेको देखाउँछ भने एन्टिबडी जाँचबाट बिरामीमा कोभिड–१९ विरुद्घको प्रतिरक्षा आएरनआएको यकिन गर्न सकिन्छ । ‘डिस्चार्ज गर्दा कोभिड–१९ विरुद्ध एन्टिबडी देखिएका बिरामीमा पछि पुनस् संक्रमण भयो कि एन्टिबडी नदेखिएको बिरामीमा पुनस् संक्रमण भयो भन्ने आधारमा उपचार विधिमा सुधार गर्नुपर्छ,’ डा। मिश्रले भने । सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्ति पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएर फर्किएका हुन् ।
डा मिश्रका अनुसार बिरामीलाई डिस्चार्ज गर्दा पीसीआरबाट नेगेटिभ देखाए पनि एन्टिबडी नबनेको अवस्थामा पुनः संक्रमण हुने खतरा रहन्छ । पीसीआर नेगेटिभ तर कोभिड–१९ विरुद्ध एन्टिबडी पोजिटिभ देखाउँदा सामान्यतया पुनस् संक्रमण हुने जोखिम रहँदैन ।
‘एन्टिबडीको मात्राले समेत पुनस् संक्रमण हुने वा नहुने अवस्थालाई निक्र्योल गर्ने हुँदा एन्टिबडीको जाँचसँगै यसको मात्रा पनि जाँच्न जरुरी हुन्छ,’ डा मिश्रले भने । कान्तिपुरबाट