रोहित काफ्ले,
भद्रपुर । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाले ५२९१ परिवारलाई राहत वितरण गरेको छ ।
विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खानेकुराकै समस्यामा परेका परिवारलाई पारदर्शी ढंगले एकद्वार प्रणालीमार्फत रहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले बताउनुभयो ।
राहत वितरण गरिएको संख्या कूल घरधूरीको ५८ प्रतिशतभन्दा बढी हो । पालिकामा ९००१ घरधुरी रहेका छन् ।
प्रतिपरिवार १० केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, एक केजी नून र एक थान नुहाउने साबुन वितरण गरिएको थियो । राहत वितरण लगायतका कार्यमा ४४ लाख १२ हजार ६९४ रुपैयाँ खर्च भइसकेको योजना शाखा प्रमुख केशव मैनालीले जानकारी दिनुभयो ।
विश्वव्यापी कोरोना महामारीलाई मध्यनजर गर्दै गाउँपालिकाले ४४ लाख र प्रदेश नं १ सरकारले ५ लाख रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेकोमा स्थानीय विभिन्न सामाजिक तथा वित्तीय संघसंस्था र दाता समाजसेवीहरुले पनि कोषमा राहत रकम जम्मा गरेका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले छोराको विवाहको भोजमा खर्च हुने रकमबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
अहिले कोषमा ३१ लाखभन्दा बढी रकम जम्मा रहेको लेखा अधिकृत मनमोहन सिग्देलले जानकारी दिनुभयो ।
आफ्नो आन्तरिक स्रोत न्यून रहेको र प्रायः सबै वडा भारतसँगको खुला सिमाना रहेको कचनकवलले कोरोना संक्रमण भित्रन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि सबैखाले तयारी गरेको स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार वार्ड नं ३ को पथरिया माविमा ३० बेडको क्वारेन्टिन स्थापना गरिएको छ भने लकडाउन अघि वा पछि विदेश तथा भारतबाट आएका २२ जनाको आरडीटी र १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । सीमा क्षेत्रका स्वास्थ्य चौकीमा कोरोना हेल्थ डेस्क राखिएको छ ।