वीरगन्ज । वीरगन्जमा मंगलबार कोभिड १९ पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा पर्सामा थप ३९ जना कोभिड पोजेटिभ देखिएका हुन् ।
‘शुक्रबार र शनिबार संकलन गरिएको ६ सय ७७ नमुना मध्ये ३ सयको परीक्षण गर्दा ३९ जनाको पोजेटिभ पुष्टि भएको हो,’ डा उपाध्यायले भने, ‘त्यसमा २ जना पत्रकारसमेत हुनुहुन्छ ।’ गत शनिबार वीरगन्ज महानगरपालिका–२ छपकैयाको ट्रेसिङ साइटमा वीरगन्जका ४ जना पत्रकारले थ्रोट स्वाबको नमुना दिएका थिए ।
यसअघि ३ जना भारतीय मुस्लिम धर्म प्रचारकसहित वीरगन्जमा २५ जनामा कोराना पुष्टि भइसकेको छ ।
गत वैशाख २४ मा वीरगन्ज महानगरपालिका– ३ छपकैयाका एकै परिवारका १७ जनामा कोरोना पुष्टि भएपछि कनट्याक्ट ट्रेसिङ तीव्र पारिएको थियो । बिहीवार, शुक्रबार र शनिबार गरि ८ सय १४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।
३९ जनामध्ये पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित श्री मंगल मावि विद्यालयको क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको १४ जनामा समेत कोरोना पोजेटिभ देखिएको हो । वीरगन्ज २ छपकैयामा स्वाब संकलन गर्दा अन्य वडाका व्यक्तिले समेत स्वाबको नमूना दिएका थिए ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो ।
मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।