झापा । लकडाउनका बेला अनाधिकारिकरुपमा चलाइएका २३ वटा सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा नगरपालिका क्षेत्रभित्र लकडाउन उल्लंघन गर्दै चलाइएका मालबाहक, यात्रुवाहक २ चक्के, ३ चक्के र ६ चक्के सवारी साधनलाई प्रहरी चौकी शनिश्चरे, अस्थायी ट्राफिक पोष्ट शनिश्चरे र सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरी हवल्दार दिपेश पौडेलका अनुसार अनावश्यकरुपमा चलाइएका १६ वटा मोटरसाइकल, तीन वटा टेम्पोलाई बिहीबार दिउँसो शनिश्चरे चोकबाट नियन्त्रणमा लिएर चौकीमा राखिएको छ ।

त्यस्तै, लकडाउनलाई बेवास्ता गर्दै सञ्चालनमा ल्याइएका चार वटा ट्याक्टरलाई सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोण विष्टले जानकारी दिए ।

सशस्त्र प्रहरीले मे. १ त ५६२८, मे. १ त १७६२, मे. १ त ६२०९ र मे. १ त ४८५२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

अर्जुनधारा नगरपालिकाले सर्वपक्षीय छलफलबाट प्राप्त सुझावलाई मनन गर्दै जेठ १ गतेदेखि ५ गतेसम्म लकडाउनलाई कडा गर्दै लैजाने निर्णय गरेको छ । नगरदेखि बाहिर जान र अन्य नगरबाट प्रवेशमा पूर्णरुपमा प्रतिबन्ध लगाउँदै अनावश्यक हिँडडुल नगर्न, सबै पसल बन्द गर्ने र अत्यावश्यक सवारी साधनबाहेक सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।