काँकडभिट्टा । नेपाल-भारत सीमाको दशगजा क्षेत्रबाट तस्करी हुन लागेको अवस्थाको लोपोन्मुख वन्यजन्तु सालक प्रहरीले फेला पारेको छ ।

झापाको कचनकवल–५ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट सालक फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साकारराज पन्तका अनुसार पिल्लर नम्बर ११२ र ११३ नजिकै बोरामा वाधेर राखिएको अवस्थामा सालक फेला पारिएको हो । प्रहरीले सालक तस्करीका लागि भारत लैजान खोजिएको र सुरक्षाकर्मीलाई देखेपछि छाडेर भागेको हुन सक्ने आशंका गरेको छ ।

नेपालबाट विगत लामो समयदेखि सालकलगायतका वन्यजन्तु भारत तस्करी हुँदै आएको थियो । नाकाबन्दी र लकडाउनका कारण गिरोहलाई तस्करीमा समस्या भएको छ । फेला पारिएको सालकलाई डिभिजन वन कार्यालय झापामा बुझाइएको छ ।