राजु पौडेल,
झापा । झापाको सिमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नागरिकलाई सोमबारदेखि नेपाल ल्याउने तयारी भएको छ ।

जिल्ला समन्वय समिति झापाको संयोजनमा बसेको बैठकले लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेका परेका नेपाली नागरिकलाई प्रवेश दिने निर्णय गरेको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको बैठकले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो । ‘सोमबार करिब ३ सय नेपालीलाई काँकरभिट्टा नाकाबाट ल्याउछौँ’, जिल्ला समन्वय समितीका संयोजक तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले भन्नुभयो, ‘उनीहरुको व्यवस्थापनको तयारी भइरहेको छौँ ।’

उहाँका अनुसार सिमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीलाई त्यसपछि क्रमशः प्रवेश दिइनेछ । नेपाल आएका नागरिकलाई केहीदिन जिल्लामा स्थापना गरिएको ‘होल्डिङ पोइन्ट’ मा राखिनेछ । हाललाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनलाई नै ‘होल्डिङ्ग पोइन्ट’ का रुपमा प्रयोग गर्ने बताइएको छ ।

उनीहरुलाई राख्न पछिल्लो पटक मेची बहुमुखी क्याम्पसमा २ सय बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । जिल्लाभर ७ सय ५० बेड क्षमताको क्वारेन्टाइन तयार भइसकेको छ ।

निर्णय भएअनुसार कोरोना परीक्षण भइसकेका र ‘ट्राभल्स हिष्ट्री’ का आधारमा उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइनेछ । झापा जिल्लाबाहिरका नागरिकलाई भने पिसीआर परीक्षण पश्चात् सम्बन्धित जिल्ला सदरमुकाम साथै प्रदेश राजधानी पु¥याउने निर्णय भएको छ ।

गत मंगलबारदेखि भारतमा रेल सेवा सञ्चालनमा आएपछि अध्ययन, रोजगारी र भ्रमणको सिलसिलामा भारतको विभिन्न स्थान पुगेका नेपालीको हाल सीमाक्षेत्रमा चाप बढेको छ ।

जिल्ला प्रशासन कार्यालय झापासँग हाल ८ सय ५३ जना नागरिक अलपत्र परेको तथ्याङ्क रहेको छ । त्यसबाहेक पनि ठुलो संख्यामा नेपाली स्वदेश फर्कन चाहेको बताइएको छ ।