झापा । कोभिड १९ महामारी रोकथामका लागि नगर प्रवेशमा दक्षिणतर्फ दुई वटा नाकालाई झापाको अर्जुनधारा नगरपालिकाले तोकेको छ ।

नगर क्षेत्रमा कोरोनाको हुन सक्ने संक्रमणलाई रोक्नका लागि नगरमा बसेको सर्वपक्षीय बैठकको निर्णयले गरेको नियमलाई कडाइका साथ लागु गरिएको हो ।
नगर क्षेत्रमा खाध्यान्न तथा नदीजन्य सामग्री ढुवानी तथा ओसार पोसार गर्नका लागि माता मन्दिर प्रणामी सडक र शहीद राजन गिरी मार्ग प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।

नगर प्रमुख हरिकुमार रानाले नगर क्षेत्रमा हुनसक्ने कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि यस्तो निर्णय गरिएको बताए । उनले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नगरमा हुन सक्ने संक्रमण रोक्नका लागि सीमित प्रवेश मार्ग तोकिएको बताए ।

नगरबासीसहित नगरमा प्रवेश गर्ने जोसुकैले नगरले तोकेको मार्गमात्र प्रयोग गरिदिन नगर प्रमुख रानाले आग्रह समेत गरेका छन् । साथै नगर प्रवेश गर्नेको यी दुई मार्गमा नगरको स्वास्थ्य शाखाको टोलीले स्वास्थ्य परीक्षण गर्ने, प्रवेश गर्ने सवारीको सम्पूर्ण विवरण संकलन गर्ने लगायतका स्वास्थ्यसँग सम्बन्धित काम गर्ने नगरले जनाएको छ ।

त्यस्तै सवारी साधनका प्रकार अनुसार आइतबार र बुधबार कृषि, खाद्यान्न तथा निर्माण सामग्री (रड, सिमेन्ट आदि) ढुवानी गर्ने सवारी साधन सञ्चालन हुनेछन् भने सोमबार र मंगलबार जोर नम्बर भएका नदिजन्य सामग्री ढुवानी गर्ने सवारी साधन र बिहीबार र शुक्रबार बिजोर नम्बर भएका नदिजन्य सामग्री ढुवानी गर्ने सवारी साधन सञ्चालन हुने प्रमुख रानाले बताए ।

त्यस्तै माई नगरपालिकाबाट भित्रने सवारी साधनका लागि सुखानी-दुर्गापुर सडक तथा अन्य क्षेत्रबाट माइ नगर भित्रनका लागि लक्ष्मीपुर-मदनपुर सडक सञ्चालन हुन पाउने भएका छन् ।