अर्जुन कार्की,
मेचीनगर । भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोना जाँच बिना धमाधम नेपाल भित्राइदै छ ।

पानीट्याङ्कीबाट लुकिछिपि मेची पुल आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोनाको जाँच बिना स्थानीय र प्रहरीको सहयोगमा गाडीमा हाल्दै सम्बन्धीत जिल्ला पठाउन थालिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतको सीमा नाकाबाट मेची पुल आएका उनीहरुलाई पोखरा र दोलखा बसमा हालेर पठाउने तयारी गरिएको बताए ।

स्थानीय निजी गाडीहरुले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर भारतबाट आएका पैसा भएका नेपालीहरुलाई धमाधम लाने तयारी गरेको छ ।

पैसा नभएका नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टरमा राखिने जनाएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले सामान्य फिवरको चेकजाँच गर्ने तयारी गरेको छ ।

आरडीटी र पीसीआर टेष्ट नगरी काँकरभिट्टा नाकाबाट मङ्गलबार दिउँसो पोखराका लागि ४० र दोलखाका लागि करिव ७० जना नेपालीहरुलाई बसमा हालेर लाने तयारी गरिएको छ । लोकतन्त्र पोष्टबाट