झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा रहेका २२ जना व्यक्तिसहित २५ जनाको पीसीआर टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।

शनिश्चरे माविको भवनमा स्थापना गरेको क्वारेन्टाइनमा ३८ जना रहँदै आएका थिए । त्यसमध्ये भारतबाट आएका २२ जना र तीन जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

जसमा ६ जना महिलासहित २५ जनाकै रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बिहीबार नै स्वास्थ्यकर्मीको टोलीले घर घरै पुराएको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घरै पुराएर बाँकी १४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाइएको शाखा प्रमुख बस्नेतले बताए । आफ्नो स्वास्थ्यको ख्याल गर्दै परिवारसँग दूरी कायम गर्न सम्झाइएको उनको भनाइ छ ।