झापा । झापामा कोरोना भाइरस संक्रमितको संख्या १०७ पुगेको छ । शुक्रबार झापाका थप २८ जनामा कोरोना भाइरस पुष्टि भएपछि झापामा संक्रमित संख्या १०७ पुगेको हो ।

पछिल्लो पटक संक्रमित हुने एक जना भद्रपुर नगरपालिकाका र २७ जना उनीहरु सबै झापा कचनकवलका हुन् । यो सँगै कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ ।

कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना संक्रमित भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले पुष्टि गरे ।

कचनकवलमा हिजो दिउँसो मात्रै २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाएको थियो ।

कचनकवलका छ वटा क्वारेन्टाइनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सयभन्दा बढी नेपाली आइसकेका छन् । कचनकवलमा बुधबार मात्रै जानकी आमावि क्वारेन्टाइनका १५ जना थपिएका थिए ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई दुई जना र झापा गाउँपालिका, दमकमा एक जना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निका भएर घर फर्किसकेका छन् ।