अमित खम्बू

अर्जुनधारा। झापाको अर्जुनधारा–१मा हाल निर्माण कार्य भइरहेको हलुवागढ–कालिखोला पर्यापर्यटन सिमसार क्षेत्रको निरन्तरताको लागि सम्बन्धित निकायसँगै सरोकारवालाहरुले सहयोग गर्ने आश्वासन दिएका छन् ।

सिमसार क्षेत्र दिगो विकास र वातावरणीय सन्तुलनका लागि स्वस्थ्य सिमसार भन्ने उद्धेश्यले स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले २०७४ साल असोज २६ गतेदेखि निर्माण शुरु गरेको उक्त सिमसारको योजना तर्जुमा तथा सुझाव संकलनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी उनीहरुले सो आश्वासन दिएका हुन् ।

समूहका अध्यक्ष एवम् सिमसार व्यवस्थापन उपसमितिका संयोजक चक्रप्रसाद तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १का सांसद् धीरेन्द्र शर्मा “रमण”ले तत्कालिन फाईदा दिने भन्दा दिर्घकालिन महत्वको योजनाहरुमा बजेट लगानी गर्ने प्रदेश सरकारको तयारी भएको हुँदा समूहले शुरु गरेको सिमसार क्षेत्रको लागि आफूले पहल गर्ने बताए । “व्यवस्था हुँदा फाल्गुन मसान्तसम्म र नहँदा आगामी आर्थिक वर्षको बजेटमा उल्लेख्यरुपमा सम्बोधन गर्नेछौं”–उनले प्रतिबद्धता व्यक्त गरे ।

भौगोलिकरुपमा आकर्षक तथा सरकारले निर्माण गर्न लागेको मदन भण्डारी राजमार्गको नजिकै इलाम र झापा जिल्लाको सिमानामा रहेको सो सिमसार क्षेत्रमा पर्यटकीय स्थलको सम्भावना रहेको हुँदा यसको सम्वृद्धीको लागि सबैलाई लाग्न सांसद् शर्माले आव्हान् गरे ।

कार्यक्रमका विशेष अतिथि स्थानीय सरकार प्रमुख हरिकुमार रानाले सकारात्मक उद्धेश्यसहित विपन्न उपभोक्ताहरको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य लिएर समूहले शुरु गरेको उक्त क्षेत्रको प्रबद्र्धन गर्न नगरकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए । उनले सिमसार क्षेत्रमा पुग्न सानो नेते नदीमा आवश्यक पुल निर्माण गर्न चालु आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी प्रदेश नम्बर १का सांसद् काजीमान कागतेको ३० लाख, नगरपालिकाको ३० लाख र रोङ गाँउपालिकाको २० लाखसहित ८० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

सामुदायिक वनभित्र सञ्चालन हुने पर्यापर्यटन कार्यविधि २०७५मा उल्लेख भएको व्यवस्था अनुसार सञ्चालन हुने पर्यापर्यटनको कार्यलाई आफ्नो कार्यालयले सहयोग गर्ने डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । गुरुयोजना अनुसार अघि बढीरहेकोमा समूहको प्रशंसा गर्दै सो क्षेत्रमा पर्यटक पुग्न आवश्यक पहुँच सडकलगायतका पूर्वाधारहरु निर्माण गर्न स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए ।

वनको संरक्षण र सम्वद्र्धन गर्दै वातवारणमैत्री र प्रकृतीमैत्री तरीकाबाट सामुदायिक वनभित्र रहेको पहिचान हुन नसकेको भूगोलको पहिचान गर्दै त्यसको सम्भाव्यताको खोजी गर्नु आवश्यक भएको एकीकृत पर्यापर्यटन सिमसार व्यवस्थापन समितिका अध्यक्ष खेम सिटौलाले बताए । उपसमितिका सचिव रंगलाल मिश्रका अनुसार सिमसार क्षेत्रको प्रारम्भिक चरणअन्र्तगत हालसम्म एक करोड ४० लाख खर्च भएको जानकारी दिए ।

उक्त खर्चबाट दुई वटा पोखरी, चार वटा इन्टेक, चेक ड्याम, दुई वटा आईल्याण्ड, रिङरोड, पार्कलगायत निर्माण भएको छ । सोही चरणअन्र्तगत सिमसार क्षेत्र घेराबारा गर्न, सुरुङ्ग मार्गसहितको पोखरी निर्माण, चिल्ड्रेन पार्क, विद्युतीकरण, वनभोज स्थल, गेट निर्माण, वन्यजन्तु आरक्षण केन्द्र, इन्द्रेणी पुल निर्माण, नौका विहार, खानेपानीलगायतका लागि अनुमानित तीन करोड रुपैयाँ लाग्ने सचिव मिश्रले जानकारी दिए ।

उपसमितिका सदस्य सन्त गोलेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा पूर्व सांसद् प्रेमबहादुर गिरी, वडाध्यक्ष गजाधर खतिवडा, नेपाली काँग्रेस झापाकी सदस्य सरस्वती सिटौला गोले, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चर्तुभूज काफ्ले, सामूदायिक वन उपभोक्ता महासंघ झापाका पूर्व अध्यक्ष छत्र पौड्याल, महासंघ नगरका अध्यक्ष दिव्यप्रसाद कट्टेल, समूहका पूर्व अध्यक्ष लीलाराज आचार्यलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए । उपसमितिका सहसंयोजक डिल्लीनारायण श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मिश्रले गरेका थिए ।