इलाम। समुद्री सतहबाट एक हजार छ सय ९३ मिटरको उचाइमा रहेको एउटा चुली जहाँबाट सूर्योदय र सूर्योस्तसँगै विभिन्न प्राकृतिक तथा भौगोलिक मनोरम स्थलहरुको दृश्यावलोकन, चुलीको मध्यभागमा परापूर्वकालदेखि शिलाकारुपमा अवस्थित ठूलो दर्शन ढुंगा, शिला नजिकै १६औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनले यज्ञ लगाएको यज्ञकुण्ड, चुलीको फेदीमा किरातेश्वर शिवालयको मन्दिर, मन्दिरको दक्षिणतर्फ किरात समुदायअन्र्तगत राई जातीको साकेला थान र चिटिक्कको खेलमैदान जो कोहीलाई लोभ्याउन सक्ने उक्त धार्मिक तथा पर्यटकीय स्थल हो इलाम जिल्लाको सदरमुकामबाट करिब १५ किलोमिटर पश्चिम देउमाई नगरपालिका–७ सिद्धिथुम्का क्षेत्रमा रहेको सिद्धिदेवीको बास रहेको सिद्धिथुम्का चुली ।
इलाम नगरपालिकाको नेपालटारबाट देउमाईको गाग्रेभञ्ज्याङ्ग हुँदै २४ किलोमिटर र छिमेकी जिल्ला झापाको व्यापारिक केन्द्र बिर्तामोडदेखि अर्जुनधारा नगरपालिका–माई नगरपालिका–इलाम नगरपालिकाको केही स्थल हुँदै ४८ किलोमिटरको दुरी पार गरेपछी पुग्न सकिने उक्त क्षेत्रमा रहेको चुली तथा देवस्थलको संरक्षण तथा सम्बद्र्धन गर्न स्थानीयहरु २०६५ सालदेखि जुटेका हुन् ।
त्यस चुलीबाट विश्वको सर्वोच्च सगरमाथा, कञ्चनजंगा र कुम्भकर्ण लगायतका हिमश्रृंखलासँगै इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर तथा छिमेकी देश भारतका सिमावर्ती क्षेत्रहरुको दृश्यावलोकन गर्न सकिने बताइएको छ ।
धार्मिक कथा अनुसार नवदुर्गाकी कान्छी बहिनी सिद्धिधात्री नै सिद्धिदेवी भएको सिद्धिदेवी देवस्थलका तत्कालिन पुजारी तेजप्रसाद घिमिरेले बताए । उहिले आपत विपत पर्दा, खडेरी लाग्दा, प्राकृतिक महामारी हुँदा स्थानीयहरुले त्यस देवस्थलमा पुजाअर्चना गरेपछी वर्षा हुने, गोठाले युगमा पशु हराउँदा त्यहाँ पुगेर भाकल गर्दा, शिलामा दुध चडाउँदा हराएको पशु भेट्टाइने गरेको धार्मिक विश्वास रहेको छ ।
त्यस्तै कामाक्षबाट सृष्टी भएको हाल ताप्लेजुङको पाथीभरा देवी पनि हाँसपोखरी, माईपोखरी हुँदै सिद्धिथुम्का आईपुगेर दुईचार घण्टा बिसाएपछी आफ्नो स्थल पहिचान गरि आफ्नो गुफातर्फ गएको त्रान्तिकबाट पाइने बताइएको छ । सत्यमा आधारित त्यस स्थलको अर्को महत्व महागुरु फाल्गुनन्द र ‘महारानी काफ्ले’ले परिचित तत्कालिन साङरुम्बाका उपप्रधान मानबहादुर काफ्लेले सोही स्थलमा रहेको गुफा बसी तीन महिना तपस्या गरेको भनाई रहेको पाइन्छ ।
सोही भनाई अनुसार तपस्याको क्रममा उनीहरुले शिलाको पश्चिम सानो ढुंगाको फेदी नजिक ओडारमा रहेको सानो तथा गहिरो कुवाबाट पानी पिउने गरेका थिए । महागुरुले पनि गहिराई पत्ता लगाउन नसकेको उक्त कुवामा पछी पशुप्राणी मर्छन् भनेर उनकै तरिकाले कुवा छोपेको सो स्थलमा हात रगट्दा चिसो हुने र हालसम्म पानीको अवशेष रहेको देख्न सकिने पुजारी घिमिरेले बताए । “जस्तो चिताएर आएको छ त्यस्तै फल पाउने निश्चित छ,‘तर शंकाले होइन”– उनले भने ।
सोही देवस्थलको शिला बज्रका कारण टुक्रा भएको भन्ने भनाईबारे उनको तर्क फरक रहेको छ । २०१६ सालमा साख्खेजुङ्गका चिया व्यवसायी नन्दीकेशर ढकाल र स्थानीय न्यौपाने थरको पण्डितको नेतृत्वमा शिलानजिक देवीको आसपासमा फोहोरमैला गर्नुहुँदैन भन्ने मान्यता विपरीत शिलानजिक व्यास बनाई लगाइएको लक्ष्मी नारायण श्रीमद् भागवत पुराणको चौथो दिन बज्र परेको थियो । बज्रका कारण विष्णुको स्वरुपमा राखिएको गडा, प्लेट, तिलानी बनाउने काँसे बटुका र एउटा–एउटा काँसे थाल टुक्रिएको र पण्डितहरु दुई–चार घण्टा बेहोस भएको तर शिलालाई केही नभएको उनले बताए । “फोहोरका कारण मातालाई असह्य भएर बज्र परेको हो ।”–उनी भन्छन् ।
आधारचुली सामुदायिक वनको क्षेत्रफलमा रहेको चुलीको संरक्षण कार्य शुरुसँगै चुलीमा रहेको देवस्थल घेराबारा, वनले जग्गाको सर्भे कार्य सम्पन्न गरेको भएपनि आवश्यक प्रचार प्रसार नहुँदा ओझेलमा परेको स्थानीयहरु बताउँछन् । त्यसैगरी वनसँगै त्यहाँ रहेको जैविक विविधता र राज्यकोतर्फबाट प्रारम्भिकरुपमा लगानी गरी निर्माण भएको धार्मिक पूर्वाधारहरुको संरक्षण गर्नुपर्ने उनीहरुको माग रहेको छ ।
चुली संरक्षणसँगै सोही सालदेखि शुरु भएको महोत्सव दुईपटक आयोजना भई बिचमा केही वर्ष बन्द भएको महोत्सव यस वर्षदेखि शुरु भएको सिद्धिदेवी देवस्थल व्यवस्थापन समितिका पूर्व सदस्य खेन्द्रप्रसाद घिमिरेले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नसक्ने गरी स्थलहरुको निर्माण, होमस्टेलगायत सञ्चालन गर्ने हो भने उनीहरुको संख्यामा थप वृद्धी गर्न सकिने सदस्य घिमिरेले बताए ।
सिद्धिथुम्का पर्यटन विकास केन्द्रको आयोजना र नगरपालिकाको संयोजनमा “आन्तरिक तथा बाह्य पर्यटकको सत्कार गरौं,समृद्ध पर्यटनको आधार निर्माण गरौं” भन्ने मुल नाराका साथ राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको १३४औं जन्मजयन्तीको सन्दर्भमा गत कात्र्तिक २५, २६ र २७ गते तेस्रोपटक महोत्सव सम्पन्न भएको थियो ।
महोत्सवको उद्धेश्यहरु व्यवसायिक पर्यापर्यटनको विकासमा जोड दिने, त्यस क्षेत्रमा रहेका प्राकृतिक संरचनाहरुको जानकारी गराउने, पर्यटन पूर्वाधारको लागि गुरुयोजना निर्माणलाई सहजा बनाउने, आन्तरिक र बाह्य पर्यटकहरुको संख्यामा वृद्धी गरी पर्यटनको महत्वलाई फैलाउने, प्राकृतिक पर्यावरण संरक्षण र संबद्र्धनमा जोड दिने, स्थानीयवासीहरुको आर्थिक जीवनस्तरमा सुधार ल्याउने, पर्यटन प्रबद्र्धनलाई दिगो बनाउने, जातिय, धार्मिक तथा सांस्कृतिक सहिष्णुताको आधार बलियो पार्ने रहेको थियो ।
पहिचान गर्न नसकेर ओझेलमा परेको चुलीको लागि नगरपालिकाकोतर्फबाट गत आर्थिक वर्षमा १० लाख बजेट विनियोजन भएको वडाध्यक्ष भक्तबहादुर लिम्बूले जानकारी दिए । गत आर्थिक वर्षको बजेटले फेदीमा पर्खाल तथा चुलीसम्म पुग्ने सिढीको केही भाग निर्माणको कार्य गरेको र चालु आर्थिक वर्षमा विनियोजित बजेट १० लाख रुपैयाँले बाँकी सिढीको भाग तथा शौचालय निर्माणको कार्यलाई पूर्णता दिने उनले जानकारी दिए ।
आफ्नो वडामा रहेको चुलीसँगै अजम्बरे डाँडा, रत्न गुफा, पङखेलुङ झरनालगायत पर्यटकीय स्थलहरुको विकास गरि उक्त क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन बाटोलगायत पूर्वाधारहरु निर्माण गर्न नगरपालिकाले योजना तयार गरिरहेको उनले बताए ।
प्रस्तुतीः अमित खम्बू