काठमाडौं / लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो। राजधानी दैनिकका अनुसार हाल ७५३ वटा स्थानीय तहमा झण्डै १६ हजार कर्मचारी रिक्त छ।

मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरेको थियो। त्यसरी माग गरेपछि ४३७ वटा स्थानीय तहले ११ हजार ४९२ पदको विवरण मन्त्रालयमा पठाएका थिए। स्थानीय तहको मागका आधारमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका पदमा लोकसेवाले अब छिट्टै विज्ञापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए।

४३७ बाहेक अन्य स्थानीय तहबाट विवरण नआएकाले थप संख्या भने मन्त्रालयले आयोगमा पठाएको छैन। बाँकी स्थानीय तहबाट विवरण आएमा फेरि थप संख्यामा पदपूर्तिको माग गर्दै आयोग पठाइने मन्त्रालयले जनाएको छ।

लोकसेवा आयोगले विज्ञापन गर्दा स्थानीय तहकै लागि भन्दै विज्ञापन गर्नेछ र उत्तीर्ण भएका सबै स्थानीय तहकै कर्मचारीका रूपमा रूपान्तरण हुने आयोगले जनाएको छ।