इलाम/ विभिन्न जिल्लाका अगुवा किसानले इलामका चिया क्षेत्रको भ्रमण गरेका छन् ।

ललितपुरका ९ र रामेछापका १ गरी १० वटा चिया सहकारीका २१ अगुवा किसानले चिया सहकारीको अवलोकन भ्रमणमा इलाम आएका हुन् । चिया खेतीको विस्तार नेपालको विभिन्न क्षेत्रमा विकास भए सँगै ललितपुरको दक्षिणी भेगको ग्रामीण क्षेत्रमा समेत किसान सहकारीमा आवद्ध भएर चिया खेतीको विस्तारमा जुटेका छन् ।

ललितपुरको महाङ्गकाल गाउँपालिकामा २ वटा सहकारीले र रामेछापको मन्थली नगरपालिकामा १ वटा चिया सहकारीले सानो स्तरको चिया प्रशोधन मेसिन समेत जडान गरी चिया प्रशोधन सुरुवात गरेका छन् ।

त्यसैले सहकारीमार्फत साना किसान स्तरमा भएको चिया खेती विस्तार र औधोगिकरणको विकास हेर्न र सिक्न इलामको विभिन्न ५ वटा चिया सहकारी देउमाई शान्तिडाँडा राकेटारको उच्च पहाडी चिया सहकारी, इलाम साखेजुङ्गको ग्रीन हिल चिया सहकारी, सूर्योदय फिक्कलको इलामेली चिया सहकारी र कन्यामको कन्याम चिया सहकारी, सन्दकपुरको सानीमाई चिया सहकारीका साथै चिया विस्तार योजना फिक्कललगायत इलामको पर्यटकिय क्षेत्र कन्याम, माईपोखरी, इलाम चिया कमान लगायतको अवलोकन भ्रमण यही वैशाख २६ र २७ गते गरेका छन् ।

केन्द्रीय चिया सहकारी संघ लि। नेपालको आयोजनामा भएको अवलोकन सिकाई भ्रमणले सहभागीमा चिया खेतीको विकास विस्तारमा थप उर्जा मिलेको यसको साथै इलामको पर्यटनमा समेत सहयोग पुगेको संघका महासचिव रविन राईले जानकारी दिए ।

केन्द्रीय चिया सहकारी संघ लि। नेपालले इलामको शेरामा आफ्नै भवन निमार्ण गरि देशभरका चिया सहकारीमार्फत चिया खेतीको विकास र विस्तारमा सहयोग गर्नका साथै चिया किसानहरुको भूमिका परिर्वतनका लागि वस्तुको मूल्य श्रृखलाको उत्पादन वाट प्रशोधन र वजारीकरणमा प्रवेश गराउनमा लागि परेको संघका अध्यक्ष गोविन्दप्रसाद दहालले बताए ।