काठमाडौँ । त्रिवि टिचिङ अस्पतालको ५०६ नम्बर बेडमा सुतिरहेकी ३३ वर्षीया पुर्नी शाहीलाई उठ्न(बस्न सहयोग गरिरहेका छन्, उनका श्रीमान सुरेन्द्र।
पुर्नी आफैं बिरामी भएर अस्पताल भर्ना भएकी होइनन्। उनी त ५८ वर्षीय बाबु पदमबहादुर मल्ललाई कलेजोको टुक्रा दान गरेर अस्पताल बसेकी हुन्।
टिचिङ अस्पतालमा पहिलोपटक गरिएको यो कलेजो प्रत्यारोपणले पदमबहादुरलाई नयाँ जीवन दिएको छ।
‘म एकदमै खुसी छु। मलाई भगवानले साथ दिनुभयो’, बाह्र दिनअघि बाबुलाई कलेजो काटेर दिँदाको अनुभव बाँड्दै पुर्नीले भनिन्, ‘मेरो ड्याडीले नयाँ जीवन पाउनुभयो। योभन्दा ठूलो खुसी अरू के हुन सक्छ ?’

कलेजो प्रत्यारोपणबिना पदमबहादुरलाई बचाउन सकिँदैन भन्ने एक वर्षअघि नै थाहा भएको थियो। स्वास्थ्य परीक्षण गर्दा पदमबहादुरकी जेठी छोरी पुर्नीको कलेजो मिल्ने रहेछ।
पुर्नीको बिहे भएको छ वर्ष भइसकेको छ। तीन वर्षे छोरा र १७ महिनाकी छोरी छन्। उनले आफ्ना श्रीमान र घरका सदस्यहरूसँग सरसल्लाह गरिनन्। श्रीमान सुरेन्द्रले साथ दिए। सासूले पनि हौसला दिइन्।
‘मैले मेरो श्रीमानलाई बुझाउन सकेँ। आफ्नो बाबुको ज्यान बचाउने सौभाग्य सबैले पाउँदैनन्, तिमीले पायौ भनेर साथ दिनुभयो,’ उनले भनिन्, ‘सासूले पनि देवी-देवता, मठ-मन्दिरमा पूजा गर्नुभन्दा ठूलो धर्म यही हो भनेपछि मेरो आत्मबल बढ्यो।’
उनीहरू सुरूमा विदेश गएर प्रत्यारोपण गर्ने तयारीमा थिए। खर्च धेरै लाग्ने भएपछि केही समय अलमलिए। त्यहीबीच टिचिङ अस्पतालका चिकित्सक रमेशसिंह भण्डारीसँग भेट भयो। उनीहरूले नेपालमै कलेजो प्रत्यारोपण गर्ने निधो गरे।
‘नेपालमै हुन्छ भनेपछि हामी एकदमै खुसी भयौं’, पुर्नीले भनिन्, ‘टिचिङले पहिलोपटक प्रत्यारोपण गर्न लागेको भएर अलि अलि डर पनि थियो। तर, सबभन्दा ठूलो कुरा ड्याडीको ज्यान थियो। ‘ड्याडीलाई जाबो एउटा कलेजोको टुक्रा पनि दिन नसक्ने त के छोरी ! मेरो कलेजो त पछि पनि बढ्छ, तर मेरो परिवारका लागि ड्याडी बाँच्नु नै ठूलो कुरा हो’, उनले भनिन्।

बाबुसँग पुर्नीको सम्बन्ध पहिल्यदैखि निकै घनिष्ठ थियो। कहिलेकाहीँ बाबु बिरामी पर्दा पनि उनी रातभर रोएर बस्थिन्। यसपालि त झन् ज्यानकै कुरा उठेपछि उनी खुब छट्पटाइन्।
पुर्नीका अनुसार बुबा र उनका लागि भएको सबै खर्चको हिसाब झन्डै ४० लाख रुपैयाँ पुग्छ। त्यसमध्ये शिक्षण अस्पतालमा २५ लाखजति खर्च भएको छ, बाँकी पहिलाका अरू अस्पतालमा। परिवारका सबैले मिलिजुली यो खर्च जुटाएका छन्। ऋण पनि लिएका छन्।
उनी बुधबार साँझसम्म ‘डिस्चार्ज’ हुने छिन्। केही समय घरमै आराम गर्नुपर्नेछ। सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने डाक्टरहरूले बताएका छन्। ‘कलेजो सयमा सय त पलाउँदैन, ९० प्रतिशतसम्म आउँछ भनेर डाक्टरहरूले भन्नुभएको छ’, उनले भनिन्।
भुइँचालोअघि पुर्नी ब्युटी पार्लरमा काम गर्थिन्। केही समयमा आफ्नै ब्युटी पार्लर र कस्मेटिक पसल राख्ने सोच थियो। यो सोच तत्काललाई सरेको छ। जे भए पनि ड्याडीको ज्यान बचाउन सकेकोमा उनी सन्तुष्ट रहेको सेतोपाटीमा खबर छ ।
‘परिवार भनेको सबै मिलेर बस्नुपर्ने रहेछ। एकबारको जुनी हो, मैले अर्को जुनी पाएँ भनेर कोही फर्किएर आएको छैन। यही जुनीमा सबै मिलेर बस्नु राम्रो हो। ड्याडीलाई हामीले गुमाउँछौं भनेर एकदमै पिर लागेको थियो, बल्ल ढुक्क भयो’, उनले भनिन्।