0 Shares

मेचीनगर । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलाबारीका अधिकांश व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले आफ्ना व्यावसायिक प्रमाणपत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यावधिक गर्न निर्देशन दिएको छ । बिहीबार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको बजार अनुगमन टोलीले अनुगमका क्रममा धेरै व्यवसायीहरुले आफ्ना प्रमाणपत्र दुरुस्त नराखेको फेला पारेपछि पहिलोपटक उनीहरुलाई सम्झाई बुझाई अद्यावधिक गर्न निर्देशन दिएको हो ।

टोलीले धुलाबारीका किराना, कष्टमेटिक तथा कोल्ड स्टोरसहित १४ वटा पसलको अनुगमन गरेको थियो । नगर उपप्रमुख उप्रेतीका अनुसार अधिकांश व्यवसायीहरुले मूल्य सूची अद्यावधिक नगरेको, व्यावसायिक प्रमाणपत्र समयमै नवीकरण नगरेको, आफ्ना पसलमा नापतौलका लागि राखिएका विद्युतीय कम्प्युटर काँटाहरु प्रयोग गर्न सम्बन्धित कार्यालयबाट इजाजत नलिएको, एउटा व्यवसाय दर्ता गरेर अन्य प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेको अनुगमनका क्रममा टोलीले फेला पारेको थियो ।

अनुगमन टोलीमा संलग्न इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायव निरीक्षक नरेशप्रसाद आचार्यले खोटाङ कोल्ड सेन्टरमा राखिएको बारुदजन्य वस्तु जगमग नियन्त्रणमा लिएको बताउनुभयो । कपडाको व्यवसाय तथा कष्मेटिक तथा अन्य श्रृंगार सामग्रीको कारोबारका लागि व्यवसाय गर्न इजाजत लिए पनि खाद्यान्नको कारोबार गरिरहेको पाइएपछि टोलीले उनीहरुलाई इजाजत अनुसारको व्यवसाय गर्न निर्देशन दिएको मेचीनगर नगरपालिका कार्यालयका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले बताउनुभयो ।

नेपाल सरकारले प्रतिबन्ध गरेका पेयपदार्थ, खानेतेल खुल्ला नुन लगायतका वस्तु नेपाली बजारमा फेला परेपछि तत्काल टोलीले जफत गरेको थियो । नेपालमा प्रतिवन्धित ड्राइगन, दो फूललगायत नामै नसुनेका भारतीय आयल कम्पनीद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्यवस्तु नष्टका लागि नियन्त्रणमा लिएको टोलीमा संलग्न मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो ।

खाद्यवस्तुको उपभोग्य मिति, उत्पादन मिति, उत्पादकको विवरण लगायत अनिवार्यरुपमा लेवलमा हुनुपर्ने विवरणहरु, मूल्य सूचीको अनुगमन गर्दै टोलीले खद्यान्न र साबुन, सैम्पुजस्ता विभिन्न रसायन प्रयोग हुने गरेका अन्य वस्तुहरु एकै स्थानमा नराखी अलग अलग ठाउँमा व्यवस्थापन गर्न, आधिकारिक दर्ताका विषयहरुमा व्यवसायीहरुलाई सजग गराएको थियो ।

म्याद गुज्रिएका, खान अयोग्य खाद्य वस्तुहरु, पेय पदार्थ जफत गरी नष्टको प्रक्रियामा राखिएको संघका सचिव रवि नेपालले बताउनुभयो । त्यस्ता विक्रेतालाई आइन्दा गल्ती नगर्न सचेत गराइएको छ । भारतीय बजार नवजकै रहेको र खुला सिमानाका कारण छिमेकी भारतीय बजारबाट ल्याएर फेण्टा, कोकाकोला, स्प्राइट, माजालगायतका पेय पदार्थसमेत बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ । टोलीले अधिकांश व्यवसायीहरुलाई सजग गराउँदै सम्पूर्ण अखाद्यवस्तु फिर्ता गर्न सुझाव दिएको छ । अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, उपभोक्ता मञ्च नेपालका सन्तोष नेउपानेलगायत सहभागी थिए ।