0 Shares

झिलझिले । यहाँको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३९ लाख ७७ हजार ४०९ रुपैयाँ नाफा आर्जन गरेको छ । शिवसताक्षी नगरपालिकाको दूधेस्थित सो सहकारी संस्थाको शनिबार सम्पन्न १३औं वार्षिक साधारणसभाले उक्त नाफा सार्वजनिक गरेको हो । संस्थाले ०७५/७६ मा १ करोड २ लाख ६८ हजार ८५३ रुपैयाँ आम्दानी र ६२ लाख ९१ हजार ४४४ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा र उपमेयर भोजकुमारी नेपालले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर शेर्माले सहकारीबाट देशको बेरोजगारी समस्या केही रुपमा समाधान गरेको बताए । धेरै सहकारीहरु मिलेर सामाजिक काममा पनि अग्रसर हुनुपर्ने उनको भनाइ थियो । उनले सहकारीहरुबीच सहकार्य गरी कुनै उद्योग, रोजगारी सिर्जना गर्नेखालका काम गर्न सुझाए ।

जिल्ला सहकारी संघका लेखा सुपेरीवेक्षण चुँडामणी ओझाले सहकारीका नीति, मापदण्ड, सहकारीले गर्ने काम, कर्तव्य अधिकारका बारेमा प्रष्ट पारेका थिए ।

यसैबीच सहकारीले स्थापनाकालमा कर्मचारी मेदनी पाठक, विनोद सापकोटा र केशव नेपाललाई सम्मान गरेको छ । त्यस्तै ज्येष्ठ सदस्य अमृतबहादुर आङ्वो, इन्द्रबहादुर बस्नेत, नेप्टीमाया लिम्बू र शिवमाया थेवे पनि सम्मानित भएका छन् । असल बचतकर्ता नरपति पाठक, काशीनाथ राजवंशी र असल ऋण बुझाउने सदस्य मेनुका गुरुङ्ग, राजेन्द्र खड्कालाई संस्थाले सम्मान गरेको छ ।

त्यसैगरी २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यहरुका छोरा छोरीहरु पनि सम्मानित भएका छन् । सामुदायिक विद्यालयतर्फका दिपेश ओली, खुसी ओली, अम्बिका आचार्य, विजय बस्नेत र संस्थागत विद्यालय तर्फबाट कोपिला घिमिरे, आदर्श चौहान, जुही तुम्बापो र दिपेश तिम्सिना सम्मानित भएका हुन् । सम्मानित सबैलाई संस्थाले नगद २५ सयसहित सम्मान गरेको हो ।

कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईले प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन लेखा संयोजक गोविन्द काफ्लेले गरेका थिए । संस्थाका उपाध्यक्ष जापान थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखापाल लोकेश खनालले गरेका थिए ।