झापा । तीन महिनापछि पुगेको नेपाल वायु सेवा निगमको जहाज बिहीबार रित्तै फर्किएको छ । ताप्लेजुङबाट काठमाडौं जाने यात्रु नभएका कारण जहाज रित्तै फर्किएको हो । काठमाडौंबाट भने ३ बालबालिकासहित ९ यात्रु ताप्लेजुङ आएका थिए ।

निगमले सुकेटार विमानस्थलमा तीन महिनापछि हवाइ उडान सुरु गरेको हो । यसअघि असार ४ गते उडान गरेको थियो । त्यतिबेला जहाजमा समस्या देखिएपछि यात्रु नलिइकनै फर्किएको थियो ।

जहाज आउने विश्वास नभएका कारण यात्रु नभएको सुकेटारका बासिन्दा बताउँछन् । सुकेटारका ओमप्रकाश राईले भने, ‘यात्रुले खाँचो हुने त होइन तर मौसम पनि बिग्रिरहेको र धेरै महिनापछि आउने भएकाले विश्वास नभएको हो ।’

असारदेखि भदौभर मौसमकै कारण उडान हुन नसकेको ताप्लेजुङ स्टेशन इञ्चार्ज राजु कार्की बताउँछन् । उनका अनुसार बुधबार पनि उडानको प्रयास भए पनि मौसम नखुलेपछि रद्द गरिएको थियो ।

काठमाडौंबाट भने दसैंसम्मका लागि यात्रुहरुले अग्रीम टिकट लिएका छन् । मौसम र जहाजमा समस्या नभए साताको शनिबार, सोमबार र बुधबार नियमित उडान गर्ने कार्कीले बताए ।