मेचीनगर । झापाको मेचीनगरमा निर्माण गर्न लागिएको आधुनिक र सुविधा सम्पन्न बजारको शनिबार सरकारी टोलीले सम्भाव्यता अध्ययन गरेको छ । संघीय सरकारको कृषि मन्त्रालयअन्तर्गत पशुपक्षी विकास मन्त्रालय मातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्घन केन्द्र हरिहर भवन ललितपुरको टोलीले नगरको दुई ठाउँमा रहेको जग्गाको स्थलगत अवलोकनसहित जानकारी लिएको हो ।

बरिष्ठ कृषि अर्थविद बासुदेव शर्मा नेतृत्वको सरकारी प्रतिनिधि मण्डललाई मेचीनगर नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीले जग्गाका बारेमा जानकारी गराउनुभएको थियो । नेदरल्याण्ड सरकारकोे अनुदान तथा केही सहुलियत दरमा प्राप्त हुने ऋण लागानीमा आधुनिक तथा व्यवस्थित बजार निर्माण हुने बरिष्ठ कृषि अर्थविद बासुदेव शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वाधार सम्भाव्यताका लागि नेदरल्याण्ड सरकारले केही रकम अनुदान दिने र डीपीआर तथा बजार निर्माणका लागि लाग्ने आर्थिक इष्टिमेटपछि सहुलियत दरमा ऋण लगानी गर्नेछ । हालसम्म इटहरी, दुहवी, हेटौडा, वीरगञ्ज, बुटवल, कपिलवस्तु, पोखरालगायतका स्थान यस्ता बजार निर्माणका लागि डीपीआर तयार भएको उहाँले बताउनुभयो ।

सरकारी टोलीका अनुसार यस्ता बजार निर्माणका लागि जग्गाको क्षेत्रफल ठुलो हुनुपर्ने तथा विवादरहित हुनु पर्नेछ । यस्ता बजारमा तरकारीदेखि लत्ताकपडा, विद्युतलगायत सबै मालसामान एउटै ठाउँबाट उपलब्ध हुनु पर्दछ । काठमाण्डौस्थित कालमाटी तरकारी बजारजस्तै अन्य ठाउँमा पनि निर्माण गर्न लागिएको हो ।

सरकारी टोलीलाई मेचीनगर ९ स्थित गोसखानमा रहेको १ विगाह ५ कठ्ठा तथा १० नम्बर वडामा रहेको टिमाई खोला नजिकै पशुहाटको १ विगाह ४ कठ्ठा जग्गाको स्थालगत अवलोकन गराइएको नगरपालिकाका निमित्त नगर प्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो । नगरपालिकाका तर्फबाट वडा नम्बर १० का वडाध्यक्ष सुदय पनेरु, कार्यपालिका सदस्य कृष्ण कनालले विविध विषयमा जानकारी गराउनुभएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।