विराटनगर । चाडपर्वका लागि भनेर विराटनगर भन्सार नाकाबाट फलफूल तथा मसलाजन्य वस्तुको आयात बढेको छ । बडादशैँलाई लक्षित गरेर भारतबाट ठूलो परिमाणमा स्याउ, केरा, अनार, नरिबल, छोगडा, मरिचजस्ता वस्तु आयात भइरहेको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।

दशैँको पूर्वसन्ध्यामा विराटनगर भन्सार नाकाबाट स्याउको आयात अन्य फलफूलको तुलनामा धेरै भएको छ । चालू आर्थिक वर्षको साउनदेखि घटस्थापनाको दिनसम्म १३ लाख ७९ हजार ५३५ किलोग्राम स्याउ आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले दिएको जानकारी अनुसार नौ करोड ८९ लाख ७९ हजार रुपियाँ बराबरको स्याउ आयात भएको र ९९ लाख ४७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा स्याउको आयात करिब एक लाख १२ हजार किलोग्रामले कम देखिएको छ । विराटनगर नाकाबाट अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९१ हजार ८३० किलोग्राम स्याउ आयात भएको थियो । भारतीय बजारबाट नेपालमा केराको आयात पनि भएको छ । असोज सुरुदेखि केराको आयात हुने क्रम बढेको हो । भारतबाट तीन हजार ८८० किलोग्राम केरा आयात भएको छ ।

पूर्वी नेपालमा केराको उत्पादन राम्रो रहेको र करिब आत्मनिर्भर भए पनि काठमाडौँलगायत अन्य सहरमा माग बढेका कारण भारतीय बजारबाट केरा आयात भएको हुनसक्ने अनुमान गरिएको छ । पूर्वी नेपालमा उत्पादन भएको केराले काठमाडौँ, चितवन, पोखरा, बुटवलसम्मको माग धान्दै आएको छ ।

भारतबाट चाडपर्व लक्षित गरेर छोगडा र नरिवलको आयात पनि प्रशस्त भएको देखिएको छ । विराटनगर भन्सार नाकाबाट एक करोड ९५ लाख मूल्य बराबरको दुई लाख ३७ हजार ७५० किलोग्राम छोगडा आयात भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १७ हजार पाँच सय किलोग्राम छोगडा आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा भन्दा १२ गुणाले आयात बढेको हो ।

यस्तै २६ लाख मूल्य बराबरको १५ हजार ९५० किलोग्राम नरिवल आएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो । नरिवलको आयात पनि करिब सात गुणाले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा दुई हजार २१५ किलो मात्र नरिवल आयात भएको थियो ।

उहाँले पाँच करोड ७८ लाख ८४ हजार रुपियाँ मूल्य बराबरको ४० हजार ५६६ किलोग्राम सुकुमेल आयात भएको पनि बताउनुभयो । विराटनगर भन्सार कार्यालयबाट सुकुमेल आयात भएको थिएन । विराटनगर भन्सारबाट यो वर्ष ओखरको आयात भएको छैन ।

यस अवधिमा तेस्रो मुलुकबाट मरिच पनि प्रशस्त आयात भएको देखिएको छ । विराटनगर भन्सार नाका भएर छ लाख ५६ हजार किलो मरिच आयात भएको हो । करिब २६ करोड ४९ लाख रुपियाँ मूल्य बराबरको मरिच आयातबाट भन्सारले सात करोड ३१ लाख ५६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक लाख ९० हजार किलो मरिच आएको थियो । मरिचको आयात पनि तीन गुणाले बढेको देखिएको छ । भन्सारबाट २३ हजार ३७४ किलोग्राम जिरा पनि आयात भएको छ ।

अघिल्लो वर्ष फलफूल तथा मसलाजन्य वस्तुको आयात भए पनि यो वर्ष खसीबोका भने एउटै आयात भएन । विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले खसीबोका आयातमा पूर्ण रोक लगाएका कारण पनि विराटनगर भन्सार भएर आयात नभएको बताउनभुयो ।