दमक। विश्व अण्डा दिवस मनाइरहँदा झापाका अण्डा व्यवसायी भने उचित मूल्य नपाएको भन्दै निराश भएका छन् । कुखुरापालन व्यवसायबाट पलायन भएर वैकल्पिक व्यवसाय रोज्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घ प्रदेश १ का अध्यक्ष एवं अण्डा उत्पादक किसान माधव पराजुलीका अनुसार अहिले अण्डा व्यवसाय गम्भीर सङ्कटमा पुगेका छ ।

उहाँका फार्मबाट मात्र दैनिक १० हजार अण्डा उत्पादन हुने गरेको छ । करिब ६० प्रतिशत स्थानीय बजारमा खपत हुने भए पनि बाँकी अण्डाको बजार समस्या रहेको छ । झापाको दमकमा मात्र दैनिक सरदरमा एक लाख ७५ वटा अण्डा उत्पादन हुँदै आएको उहाँको भनाइ छ । उहाँले प्रदेशमा १ मा सबैभन्दा बढी अण्डा उत्पादन हुने दमकमा नै भएकोे बताउनुभयो ।

उहाँका अनुसार प्रदेश १ मा अहिले दैनिक पाँच लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डामा प्रदेश आत्मनिर्भर रहेको छ र उत्पादन बढी भएका कारण बजार मूल्यमा समेत एकरूपता छैन । अण्डा उत्पादनका लागि प्रदेशमा करिब तीन अर्बको लगानी रहेको छ ।

लागत मूल्य पनि पाइँदैन

अण्डा बढी उत्पादन भएका कारण अण्डाले लागत मूल्य पनि नपाएको पराजुलीको भनाइ छ । एक कार्टुन अण्डा सरदरमा एक हजार पाँच सय रुपियाँमा बिक्री हुँदै आएको भए पनि प्रतिगोटा सातदेखि आठ रुपियाँभन्दा बढी अण्डाको मूल्य नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अण्डा उत्पादनमा लागत मूल्य नौ रुपियाँभन्दा बढी छ । तर, बिक्री मूल्य सात रुपियाँको हाराहारीमा रहेकाले हामी सङ्कटमा परेका छौँ ।’

उहाँले आफूहरूले सात रुपियाँमा बिक्री गरेको अण्डा बाहिर १२ देखि १५ रुपियाँमा बिक्री हुने गरेको पनि बताउनुभयो । उत्पादितमध्ये ४० प्रतिशत अण्डाले बजार पाउन नसकिरहेकाले बजार खोज्न सरकारले सहयोग गर्नुपर्ने उहाँको माग छ ।

एक करोड अण्डा गाड्नु प¥यो
नेपाल अण्डा उत्पादक सङ्घ झापाका अध्यक्ष मनोज बुढाथोकीले भदौमा मात्र झापामा एक करोड पाँच लाख रुपियाँभन्दा बढीको सात हजार कार्टुन अण्डा बिग्रेका कारण गाड्नु परेको गुनासो गर्नुभयो । वर्षासहितको गर्मीको समयमा अण्डा १५ दिनभन्दा बढी भण्डारण गर्न नसक्ने भएकाले यो अवस्था आएको उहाँको भनाइ छ । करिब एक वर्षअघिदेखि यस्तो समस्या आइलागेको उहाँले जनाउनुभयो ।

बैङ्कको ब्याज तिर्न चिन्ता
अण्डाको उत्पादनअनुसार बजार नपाएको कारण व्यवसायीलाई बैङ्क ब्याज तिर्न नै मुस्किल परेको अण्डा उत्पादक किसान भरत चम्लागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैङ्कको ब्याज तिर्ने दिन आइसक्यो तर अण्डा गोदाममा थन्किएकाले कसरी तिर्ने भनेर चिन्ता छ ।’

दमककै अर्का किसान देवराज अधिकारीले पनि यस्तै अवस्था रहे ऋणले व्यवसायीलाई डुबाउने गुनासो गर्नुहुन्छ । अण्डा उत्पादनका लागि तीन हजारभन्दा बढी लेयर्स कुखुरा पाल्दै आउनुभएका उहाँले अहिले कुखुरा घटाउन लागेको बताउनुभयो ।

बजारको खोजी
व्यवसायीले सरकारसँग आफूहरूलाई अनुदानभन्दा पनि अण्डाको उपभोगबारे सचेतना जोगाउन विभिन्न कार्यक्रम ल्याइदियोस् भन्ने माग गरेका छन् । प्रदेश अध्यक्ष पराजुलीका अनुसार अहिले पनि नेपालमा ३३ प्रतिशतले मात्र अण्डा उपभोग गर्ने गरेका छन् । यो सङ्ख्या बढाउन सकेमा मात्र पनि आफूहरूलाई राहत मिल्ने उहाँको भनाइ छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले यस विषयमा ध्यान नदिएको पनि अण्डा उत्पादक किसानहरूको भनाइ छ ।