0 Shares

ख्याम भुजेल,

इलाम । किवीको जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्ला ९इलाम०का किसानले काँचै (खानयोग्य नभएको) किवी बजारमा निकालेका छन् । कलिलैमा बजारमा निकालिएपछि सिजनमा किवीको बजार खस्किनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

कात्तिक अन्तिमतिर मात्रै पाक्ने किवी भदौको पहिलो साताबाटै बजारमा निस्किएको छ । अन्य जिल्लाका किसानले नटिप्दै इलामको किवी बजारमा पुगेको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले बताए । ‘कात्तिक अन्तिमदेखि मात्रै किवी खानलायक हुन्छ’, उनले भने, ‘अहिले बजारमा निस्किएको किवीले उपभोक्ता ठगिए ।’ चाडबाडमा फलफूल कोसेलीका रूपमा लैजाने चलन छ । दसैँमा किवीको कोसेली लाने र खानेले किवीको मीठो स्वाद पाएनन् ।

वेला नहुँदै बजारमा निस्किएको किवी स्वादिलो हुँदैन । नपाकेको किवी अमिलो हुन्छ । नछिप्पिँदै टिपेको किवी चाउरिने र कुहिन्छ । वेला नहुँदै टिपेर बजारमा ल्याएको किवीमा फल पकाउने केमिकलको समेत प्रयोग हुने सक्ने राई बताउँछन् । ‘विषादीको प्रयोग नगरी पाकेको किवीलाई ‘रिफ्याक्ट्रोमिटर’ नाप्दा ७-९ प्रतिशत गुलियोपन हुनुपर्छ’, उनले भने, ‘नपाकेको किवीमा पोषणतत्व पनि पर्याप्त हुँदैन । रेड किवी भदौतिरै खानयोग्य हुने भए पनि यसको उत्पादन जिल्लामा एकदमै न्यून छ ।’

इलाममा उत्पादन भएको रेड किवी सकिसकेको छ । काँचो किवीले उपभोक्ता मात्रै ठगिने सरोकारवालाको भनाइ छ । मुख्य सिजनमा इलामको किवीले बजार नपाउनेमा उनीहरूले चिन्ता व्यक्त गरे । ‘एक-दुई जना किसानका कारण इलामका सयौँ किसानले किवीको भाउ नपाउने अवस्था हुन्छ’, सञ्चालक समिति अध्यक्ष राई भन्छन्, ‘यसले गर्दा इलामको किवीप्रति उपभोक्ताको विश्वास घटेर जान्छ ।’

काँचो किवी बजारमा गएका कारण आगामी उत्पादनसमेत व्यपारीको रोजाइमा नपर्ने उनको बुझाइ छ । उनले भने, ‘त्यसले किवीमा ठूलो लगानी गर्ने किसान र उद्यमीलाई घाटा हुन्छ ।’

इलामको सोयाङ, सांगरुम्बा, सन्दकपुरको आलुबारी, पाँचथरको रानीटारलगायत क्षेत्रका किसानले नछिप्पिँदै किवी टिपेका छन् । यहाँको किवी इलाम बजार, राँके, विर्तामोड, दमक हुँदै काठमाडौंसम्म निकासी भइरहेको छ । बजारमा काँचै किवी छ्यापछ्याप्ती हुँदासमेत आफूहरूसँग त्यसलाई रोक्ने संयन्त्र नभएको गुनासो अगुवा किसानले गरेका छन् ।

संयन्त्र नहुँदा किवी जोन सञ्चालक समितिले जिल्लाको उद्योग वाणिज्य संघलाई र इलाम उद्योग वाणिज्य संघले अन्तरजिल्लाका उद्योग वाणिज्य संघलाई गुहारेका छन् । उद्योग वाणिज्य संघ इलामले झापाको विर्तामोड र दमक उद्योग वाणिज्य संघलाई काँचो किवीको बिक्री रोक्न आग्रह गरेको भए पनि रोकिएको छैन ।

इलामका तीन हजार किसानले व्यावसायिक किवी खेती गर्ने गरेका छन् । इलामबाट मात्रै वर्षमा तीन सय मेट्रिकटन किवी उत्पादन हुने गरेको छ । अहिले प्रतिकिलो २५० रुपैयाँदेखि तीन सय रुपैयाँसम्म किवीको किनबेच भइरहेको छ । इलामसहित सोलुखुम्बु र दोलखामा किवी जोन लागू भएको छ । सोलुखुम्बु र दोलखाका किसानले किवी टिपेका छैनन्, नयाँ पत्रिका दैनिकमा खबर छ ।