0 Shares

शान्तिनगर । झापाको बुद्धशान्ति-६ स्थित ठुटेबर परिसरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कात्तिक २१ गते बिहीबारदेखि २७ गते बुधबारसम्म ७ दिन लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला यस स्थानको पहिचान र विकासका लागि स्थानीयले लगाउन शुरु गरेका हुन् ।

स्थानीय युवाको सक्रियतामा गत वर्षहरुमा लाग्दै आएको मेला, यो वर्ष पनि ठुटेबर संरक्षण तथा विकास समितिले लगाउँदैछ । मेला लगाउन मुल आयोजक समितिका शिवकुमार पौड्यालको अध्यक्षतामा ११ सदस्यीय मुल समिति रहेको छ भने सचिव सोमनाथ पौड्यालको संयोजकत्वमा विभिन्न ५ वटा उपसमिति गठन गरिएको प्रचार समितिका संयोजक पुस्कर पौड्यालले जानकारी दिए । उनका अनुसार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै मेलाको व्यवस्थापन उपसमितिका संयोजक सोमनाथ पौड्याल, लेखा तथा आर्थिक संयोजकमा कोषाध्यक्ष खुरहरी ढकाल, प्रचार प्रसार समितिमा पुस्कर पौड्याल, खेल समितिमा वडा खेल समितिलगायत रहेका छन् ।

स्थानीयस्तरमा उपलब्ध कृषि सामग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालले बताउनुभयो ।

करिब ५-६ सय वर्ष पुरानो बरको रुख परिसरमा लाग्दै आएको मेला, विस २०६४ साल भदौ २० गते ढलेपछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको थियो । स्थानीय स्तरमा उपलब्ध कृषि सामग्रीको प्रोत्साहन तथा यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने अपेक्षा छ ।

सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्र्याउन रोटे पिङ, विभिन्न कृषि सामग्रीका स्टल र स्थानीय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।