धनकुटा । पर्यटकीय गन्तव्यको रुपमा धनकुटाको भेडेटार र हिलेबजारले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाउँदै आएको छ । तर पछिल्लो समय धनकुटाको छथर जोरपाटीमा ट्री हाउस निर्माण भएपछि त्यसतर्फ पर्यटकहरुको आकर्षण बढ्न थालेको छ ।

दिन प्रतिदिन शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण र कोलाहलका कारण पछिल्लो समय पर्यटकको रोजाइमा सुनसान र एकान्त ठाउँहरु पहिलो प्राथमिकतामा पर्ने गरेका छन् । पर्यटकहरुको रोजाइलाई मध्यनजर गर्दै धनकुटाका दुई युवाहरुले एक छुट्टै प्रकारको पर्यटकीय गन्तव्यस्थलको निर्माण गरेका हुन् ।

अहिले पर्यटकहरु थकान मेटाउँदै विभिन्न चराचुरुङगीको आवाजसँगै सुनसान र स्वच्छ वातावरणमा रमाउन ट्री हाउसमा आउन थालेका छन् ।

स्थानीय दुई युवा प्रेम लिम्बू र हेम लिम्बूले निर्माण गरेको ट्री हाउस छथर जोरपाटी गाउँपालिका–५, परेवादिन चुम्लुङ चोकमा छ । उनीहरुले बरको रुखमा काठ र जस्ता प्रयोग गरेर ट्री हाउस निर्माण गरेका हुन् ।

गाउँघरलाई पनि पर्यटनको केन्द्र बनाउने तथा स्थानीय युवाहरुलाई रोजगारीको अवसर र्सिजना गरेर शहर पलायन हुने प्रवृत्ति रोक्न ट्री हाउस निर्माण गरिएको युवाहरुले बताए।

ट्री हाउस होटल सञ्चालनमा आएसँगै विभिन्न ठाँउबाट आन्तरिक पर्यटकहरु घुम्न आउने क्रम सुरु भएको छ । त्यस क्षेत्रमा घुम्न आउने पर्यटकहरु ट्री हाउसमै खाने, बस्ने गर्न थालेका छन् । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्ने उद्धेश्यले ट्री हाउस निर्माण गरेको सञ्चालक प्रेम लिम्बूले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट केही समय अघि फर्किएका हेम लिम्बूले गाउँमै केही गर्ने योजना बनाएपछि त्यसमा आफूले साथ दिएको प्रेमले बताउनुभयो । उहाँ गाउमै रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा ३ वर्षदेखि कार्यरत हुनुहुन्छ । हेम भने २०६० सालमा रोजगारीको सिलसिलामा विदेश जानुभएको थियो ।

वैदेशिक रोजगारीबाट घर फर्किएपछि परिवारबाट शहर गएर बस्न धेरै दबाब आए पनि गाउँमा नै केही गर्नु पर्छ भन्ने लागेर साथी ९प्रेम० सँग सल्लाह गरेर साझेदारीमा ट्री हाउस सञ्चालन गरेको हेमले बताउनुभयो । होटल दुई महिना अगाडिदेखि मात्र सञ्चालनमा आएको हो ।

झण्डै ४ लाख रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको ट्री हाउस होटलमा स्थानीय रुपमा उत्पादन गरिएका अर्गानिक सागसब्जी लगायतबाट बनेका परिकारहरु पाइन्छ ।

आफ्नो गाउँ छाडेर शहर छिर्ने क्रम व्यापक रुपमा रहेकाले अब गाउँ छाड्नुभन्दा गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिन र आन्तरिक पर्यटनको विकास गरेर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ट्री हाउस सञ्चालनमा ल्याएको हेमको भनाइ छ ।