सन्तोष शर्मा,
झापा । इजरायलमा एक वर्ष कृषि तालीम लिएर स्वदेश फर्किनुभएका झापा गाउँपालिका-३ का चन्द्र बस्नेत (३१) जिल्लामै ‘मिनी इजरायल’ बनाउने अभियानमा जुट्नुभएको छ ।

इजरायली कृषि प्रविधिको प्रयोग गरेर एकीकृत कृषि प्रणालीमार्फत् झापामै मिनी इजरायल बनाउने अभियानमा उहाँ लाग्नुभएको हो । ‘इजरायली कृषि प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘मैले सिकेको सीपलाई व्यवहारमा उतारेर जिल्लामै मिनी इजरायल बनाउने सपना छ ।’

बस्नेतले आफ्नो अभियानलाई मूर्तरुप दिन २० बिघा क्षेत्रफलमा केरा खेती शुरु गर्नुभएको छ । ‘टिसु कल्टर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गरेर खेती शुरु गरिएको उहाँले बताउनुभयो । ‘टिसु कल्चरबाट बेर्ना उत्पादन गरेर झापामा खेती गरिएको यो पहिलो हो’, उहाँले भन्नुभयो, ‘अरु तिर केराको गानो लगाएर खेती गर्ने गरिएको छ ।’ २० बिघा जग्गामध्ये बस्नेतको व्यक्तिगत २ बिघा जग्गा हो भने थप जग्गा लिजमा लिइएको हो ।

सन् २०१८-२०१९ को एक वर्षे कृषि तालीमका इजरायल जानुभएका बस्नेतले इजरायलको इन्गेभ फर्ममा तालीम लिनुभएको थियो । इन्गेभ इजरायलको ठूलो केरा खेती गर्ने फर्म रहेको उहाँले सुनाउनुभयो । ‘मैले काम गरेको फर्ममा एकीकृत प्रणालीबाट खेती गरिन्थ्यो’, उहाँले तालीमताका अनुभव सुनाउँदै भन्नुभयो, ‘त्यहाँ सिजन अनुसार भिन्दाभिन्दै उत्पादन लिइन्छ ।’

सोही अनुरुप केरासँगै कागती, सजिवन खेती गरिने बस्नेतको भनाइ छ । सजिवन खेतीका लागि भारतको दिल्लीबाट बिऊ खरीद गरेर ल्याइएको छ । फागुनदेखि सजिवन खेती गरिने उहाँले सुनाउनुभयो ।

इजरायलमा तालीमसँगै उहाँले करिब रू २० लाखसमेत कमाउनुभयो । सोही रकमबाट ‘एग्री सेन्टर झापा प्रालि’ सञ्चालनमा ल्याएर कृषि कर्ममा लागेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म फर्ममा रू ३५ लाख लगानी गरिसक्नुभएको छ । ‘आफूसँग भएको पैसा र साथीभाइसँगको सरसहयोगमा लगानी बढाउँदै लगेको छु’, उहाँले भन्नुभयो, ‘अझै लगानी चाहिएको छ, जुटाउने कोसिस भइरहेको छ ।’ सरकारले स्वदेशमै आत्मनिर्भर हुन चाहने युवालाई विशेष प्राथमिकता दिएर ऋण प्रदान गर्नुपर्ने बताउनुभयो ।

एग्रो सेन्टरमा बस्नेतको ८० प्रतिशत लगानी छ । बाँकी २० प्रतिशत डम्बर खनाल (काठमाडौँ), रुपा खनाल (विराटनर), खुश्बु ओली (कनकाई) र सुस्मा कार्की (कनकाई) ले पाँच÷पाँच प्रतिशतका दरले लगानी गर्नुभएको छ ।

अग्र्यानिक केरा उत्पादन गर्न गाईवस्तुको मल प्रयोग गरिएको छ । प्रतिविरुवा तीन मिटरको फरकमा लगाइएको छ । अहिलेसम्म १२ सय विरुवा लगाइएको बस्नेतले बताउनुभयो । खेरा खेतीमा इन्गेभ फर्मले समेत प्राविधिक सहयोग समेत गरिरहेका छ ।

केराको बेर्ना रोपेको वर्षदिनदेखि उत्पादन सुरु हुने र प्रतिबिगाह रू चार लाखसम्म आम्दामी लिन सकिने बस्नेत बनाउनुहुन्छ । केराबाट विभिन्न किसिमका परिकार उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्ने भावी योजना रहेको बस्नेतले सुनाउनुभयो ।

किसानलाई व्यावसायिक बनाउन आफूहरुले बिऊ बैंक समेत स्थापना गरेको बस्नेतले बताउनुभयो । ‘किसानलाई गुणस्तरीय बिऊ उपलब्ध गराउन बिऊ बैंक स्थापना गरेका छौँ’, उहाँले भन्नुभयो, ‘काठमाडौँबाट गुणस्तरीय बिऊ ल्याएर किसानलाई सहुलियतमा दिने गरिएको छ ।’ उहाँले बिऊ उम्रिने ग्यारेन्टी समेत दिने गरिएको बताउनुभयो ।

यता, कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल सिंहले झापामा करिब तीन सय बिघामा केरा खेती हुने गरेको जानकारी दिनुभयो । प्रमुख सिंहले झापामा धान, मकै, सुपारी, रबरको सुपर जोन घोषणा भइसकेको बताउँदै केराको समेत जोन र सुपर जोनको बनाउन सकिने बताउनुभयो । ‘एउटै क्षेत्रमा पाँच सय हेक्टर केरा खेती गरिएमा सरकारले केरा जोन घोषणा गर्न सक्छ’, सिंहले भन्नुभयो ।