झापा । धुलावारीमा पुस ९ देखि १७ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । मेची उद्योग वाणिज्य सङ्घले व्यापार निकासी तथा प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागेको हो ।

सङ्घले बुधवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी सुरु गरिएको जनाएको छ । सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले साना तथा मझौला, ठूला उद्योगका उत्पादन र कृषिजन्य उत्पादन समेतका करिव २ सय स्टल महोत्सवमा रहने बताए । ‘एकलाख दर्शकले महोत्सव अबलोकन गर्छन् भन्ने अनुमानका आधारमा सोही अनुसारको तयारी गरेका छौँ’, अध्यक्ष तिम्सिनाले भने, ‘महोत्सवमा पाँच करोड रुपैयाँ बराबरको कारोवार हुने सङ्घको अनुमान छ ।’

महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन र खानपान क्षेत्र छुट्टयाइने महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेलले बताए । महोत्सवमा भारत, बङ्गलादेश पाकिस्तान र भुटानका अवलोकनकर्ता सहभागी हुनेछन् । महोत्सवमा अक्टोनोर्म प्रविधिबाट विशेष प्रकारका स्टलहरु बनाइनेछन् ।

आकर्षक सेल्फी जोनको व्यवस्थासहित महोत्सवमा साहसिक तथा मनोरञ्जनात्मक खेलहरु समावेश हुनेछन् । स्थानीय तथा कृषिजन्य उत्पादन प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य रहेको प्रचार समितिका संयोजक सन्दीप ओलीले बताए ।

महोत्सव रमपम चाउचाउले प्रायोजन गरेको छ । बैङ्किङ पार्टनरका रुपमा माछापुच्छे बैक रहेको अध्यक्ष तिम्सिनाले जानकारी दिए । महोत्सवका लागि मेचीनगर नगरपालिकाले बजेटमा पाँचलाख रुपैयाँ व्यवस्था गरेको छ । महोतसवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले पनि आफ्नो प्रस्तुति देखाउनेछन् ।

यसअघि सङ्घले २०७० मा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव आयोजना गरेको थियो । त्यसको छ वर्षपछि अर्को महोत्सव आयोजना गरिन लागेको हो ।