उर्लाबारी । उर्लाबारी-७ स्थित मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिवको मिलेमतोमा एक जना शेयर सदस्य ऋणीको घरजग्गा दृृष्टिबन्धक पास गर्नुपर्नेमा राजीनामा पास गरेको खुलासा भएको छ ।
उर्लाबारी–४ फूलबारी चोककी कमला तामाङले १० धुर जग्गा र डेढ तले आरसीसी घर धितो राखेर सो सहकारीबाट २५ लाख ऋण लिएकी थिइन् । यद्यपि संस्थाका अध्यक्ष ध्रुबचन्द्र पराजुली र सचिव मातृका दाहालले संस्थाको नाममा दृष्टिबन्धक पास नगरी सोझै आफ्नै नाममा राजीनामा पास गरेको पीडित कमला तामाङले शनिवार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिईन् ।
२०७४ भदौँ १८ गते सो सहकारीको साधारण शेयर सदस्य भई नियमित रुपमा कारोबार गर्दै आएकी तामाङले २०७५ माघ १३ गते दुई लाख ५० हजार शेयर रकम पुर्याएकी थिईन् । उर्लाबारीको मधुमल्ला रोडमा हेवन भ्याली होटल संचालन गर्दै आएकी तामाङले आफ्नो व्यवसायलाई स्तरोन्नतिका लागि सहकारीबाट २५ लाख ऋण माग गरेकी थिईन् ।
सहकारीलाई देखाएर ऋण उपलब्ध गराए पनि अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीको नाममा नभई जग्गा र घर आफ्नै नाममा राजीनामा पास गराएको खुलेको हो । जालसाजी गरी अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीमा राखिएको भनिएको घरजग्गा आफ्नै नाममा पारेको थाहा पाएपछि ऋणी कमला तामाङका नाबालक छोराहरु कर्मा छिरिङ तामाङ र लेकी दोर्जे तामाङले जिल्ला अदालत मोरङमा अंश हकदाबी गर्दै मुद्धा दायर गरेका थिए ।
गत कार्तिक २४ गते संस्थामा तामाङको नाममा रहेको १७ लाख ५० हजार ८१५ साँवा ब्याज चुक्ता गरेको देखिएको छ । तामाङले गत फागुनसम्ममै ८ लाख किस्ता बुझाईसकेकी थिइन् । यसअघि कमला तामाङले सुनचाँदीको ब्यापारीसमेत रहेका सचिव दाहालको पसलमा एनएमबी बैँकको चेकबुक छाडेकी थिईन् । सोही क्रममा अध्यक्ष र सचिवले एकप्रति चेक गायब पारेको तामाङले बताइन् । मुद्धाका क्रममा अदालती पक्रिया सुरु भएपछि सोही चेकमा कमला तामाङको किर्ते हस्ताक्षर गरी कार्तिक २४ गते नै एनएमबी बैँकमा १७ लाख १६ हजार ६ सय ५० निकाल्न खोजिएको तामाङले बताएकी छिन् ।
सोही दिन सहकारी संस्थामा आफ्नो नाममा रहेको ऋण चुक्ता भएको पाइए पनि सोही चेकमार्फत बैँकबाट पुनः रकम निकाल्न खोजेको तामाङले बताईन् । खातामा सो बराबरको रकम नदेखिएपछि सहकारीका व्यवस्थापक अशेषकुमार थापाले संस्थाको लेटर प्याडमार्फत एनएमबी बैँक मधुमल्ला शाखालाई तामाङको खातालाई कालोसुचीमा राखी कारबाही अगाडि बढाउन भन्दै निवेदन दिएका थिए ।
पीडीत तामाङले पत्रकार सम्मेलनमार्फत आफुलाई न्याय दिलाईदिन सहकारीका नियमक निकाय लगायत सम्बन्धित सरोकारवाला सबैमा आग्रह गरेकी छिन् । उनले आफुलाई सहकारीको नाममा ऋण दिएर ब्यक्तिको नाममा घरजग्गा पास गराएको भन्दै अध्यक्ष पराजुली र सचिव दाहाललाई कारबाही गर्न सम्बन्धित निकायमा आग्रह गरेकी छिन् ।