0 Shares

पाँचथर । कोदोको महत्व नबुझ्दा पाँचथरमा यो खेती उपेक्षामा परेको छ । यसको खेती गर्न किसानले छोड्दै गएका छन् ।

सरकारले समेत कोदो खेती गर्न किसानलाई प्रोत्साहन गरेको छैन । आम्दानीमुखी बालीतर्फ केन्द्रित हुँदा कोदो बाली उपेक्षामा परेको राष्ट्रिय कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए ।

जिल्लाको ७ गाउँपालिका र एक नगरपालिकाको ८ सयदेखि एक हजार ९ सय मिटर उचाइमा कोदो खेती हुने गरेको छ ।

यातायात सुविधाले यहाँका गाउँ गाउँमा तराइको धानको चामल पुगेसँगै अहिले किसानले कोदो खेती गर्न छाडेका हुन् ।

अधिकांश किसानले अहिले आम्दानी दिने तरकारी, फलफूल, मसला, फलफूल बाली मात्रै रोज्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार जिल्लामा २०६८ सालमा पाँच हजार हेक्टरमा कोदो रोपिएकोमा अहिले चार हजार ८१० हेक्टरमा मात्र कोदो रोपिएको छ ।