0 Shares

झिलझिले । शिवसताक्षी नगरपालिकाले बुधबारदेखि दूधे श्रोतकेन्द्र भवनमा लेखा व्यवस्थापन तालिम शुरु गरेको छ । यो तालिमलाई नगरले हालसम्मकै पहिलो र ठुलो भनेर टिप्पणी गरेको छ ।

शिवसताक्षी नगरको आर्थिक सहयोग र सहकारी शाखाको संयोजनमा ७ दिवसीय सहकारी लेखा तालिम शुरु भएको हो । नगरका ५६ विभिन्न प्रकृतिका सहकारीमध्ये ३० वटा सहकारी संस्थाका लेखापाल तथा लेखा समितिका प्रमुखलाई नगरले तालिममा सहभागी गराएको छ ।

लेखा व्यवस्थापन तालिमले सहकारी संस्थाको हिसाब किताब चुस्त र दुरुस्तरुपमा व्यवस्थापन गर्न सघाउ पु¥याउने सहभागीहरुले प्रतिक्रिया दिएका छन् । सहकारी संस्थाको मेरुदण्डको रुपमा रहेको लेखा, हजारौँ शेयर धनीको जीवनसँग जोडिएको सहभागीले बताएका छन् । उनीहरुले, सहकारी संस्थाको लेखा महत्वपूर्ण पाटो रहेको समेत बताए ।

लेखा व्यवस्थापनसम्बन्धी तालिमले संस्थाको आर्थिक गतिविधिलाई सहजरुपमा विकास गर्न सहयोग पुग्ने तालिममा सहभागी नगदेवाली कृषि सहकारी संस्थाका व्यवस्थापक तारा सिग्देलले बताए ।

सहकारी संघसंस्थाहरुको लेखा व्यवस्थापनलाई वैज्ञानिक र पारदर्शी बनाउनका लागि तालिम आयोजना गरिएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा तालिम उद्घाटनसत्रकी प्रमुख अतिथि भोजकुमारी नेपालले बताएकी छन् । उनले भनिन्, ‘संस्थाको लेखा व्यवस्थापनलाई चुस्त र सक्षम बनाउन सकेमात्र सहकारी संस्थामा समस्या आउँदैन ।’

नगरको लेखा प्रणालीमा एकरुपता कायम गर्नका लागि पनि लेखा तालिम महत्वपूर्ण रहेको उनको भनाइ थियो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न उनले सहभागीलाई आग्रह समेत गरिन् ।

सहकारीको लेखा व्यवस्थापनसम्बन्धी तालिम जिल्लाका १५ वटा स्थानीय तहमध्ये शिवसताक्षी नगर पहिलो भएको नगरका सहकारी शाखा प्रमुख बद्री दाहालले बताएका छन् । उनले भने, ‘गतवर्ष पनि शिवसताक्षी नगरपालिका जिल्लामा पहिलो भयो, यो वर्ष पनि हाम्रो नगर १ नम्बर भएको छ ।’ अन्य स्थानीय तहले सहकारीको लेखा व्यवस्थापन सम्वन्धि तालिम आयोजना नगरेको उनले बताए ।

तालिममा सहभागी अर्का प्रशिक्षार्थी छिमेकी बचत तथा ऋण सहकारी संस्थाका लेखा समितिका संयोजक यामबहादुर खड्काले तालिमबाट आफूले संस्थाको हिसाब किताबहरु सही ढंगबाट राख्न प्रेरित गर्ने र संस्थाको आन्तरिक लेखा परीक्षणको लागि सहयोग पुग्ने बताए ।

सहकारी संस्थाहरुमा लेखासम्बन्धी ज्ञानको अभाव हुँदा केही संस्थाहरुमा समस्या देखीएकोले विधागत प्रमुखले तालिम अनिवार्य लिनुपर्ने आयोजक शिवसताक्षी नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर खवासले बताए ।

सहकारीको मासिक आर्थिक प्रतिवेदन निर्माण, अन्तिम खाता व्यवस्थापन, कर व्यवस्थापन, सम्पत्ति विवरण, लेखा परीक्षण प्रतिवेदन विवरण लगायतका विषयहरुमा तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरको सहकारी शाखाले जनाएको छ । कार्यक्रम वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षता र सहकारी शाखाका प्रमुख बद्री दाहालको सञ्चालनमा भएको थियो ।