झिलझिले । शिवसताक्षी नगरको ठुलो झिलझिले बजारको टहराको जिर्णाेद्वार शिवसताक्षी नगरपालिकाले गर्ने भएको छ ।

टहराको जिर्णोद्वार गर्न स्थानीयले नगरमा स्थानीय सञ्चारकर्मीमार्फत अनुरोध गरेपछि नगरकी उपमेयर भोजकुमारी नेपालले टहराको जिणोद्वार गर्ने नगरको दायित्व रहेको बताइन् । उनले भनिन्, ‘यसअघि नै जानकारीसहित लिखित मागपत्र आएको भए अन्य बजारका टहरासँगै झिलझिले बजारको पनि टहरा पुनर्निर्माण भइसक्ने थियो ।’

दुई दशकअघि निर्माण भएको टहराका काठ मक्किएर भाँचिन थालेपछि व्यापारी समस्यामा परेका हुन् । जस्ता पनि खियाले प्वाल पर्न थालिसकेको छ । ०५६ सालमा स्थानीय झिलझिले बजार विकास समितिको पहलमा तत्कालिन सतासीधाम गाविसले टहरा निर्माण गरेको थियो । टहराले यतिबेला न त घाम छेल्छ, न त पानी नै ।

स्थानीयका अनुसार ०२६ सालदेखि झिलझिलेमा सोमबार हटिया लाग्न थालेको हो । नगरका अन्य बजारमध्ये झिलझिले बजार ठुलो छ । झापा, इलाम र मोरङका व्यापारी झिलझिले बजारमा व्यापार गर्न आउने गरेको झिलझिले बजार विकास समितिका अध्यक्ष कालिबहादुर लिम्बूले बताए । सोमबारे हटियामा ५ सयभन्दा वढी व्यापारी अन्यत्रबाट व्यापारका लागि आउने गरेका छन् भने करोडौँको कारोबार हुने गरेको उनले जानकारी दिए ।

झिलझिले बजारको हाटकर पछिल्ला ४ वर्षदेखि शिवसताक्षी नगरपालिकाले संकलन गर्दे आएको छ । जानकारका अनुसार पहिलो वर्ष अर्थात् ०७२ सालमा नगरले ४ लाख ५० हजारमा ठेक्का लगाएको थियो । त्यसपछि ५ लाख ५० हजारभन्दा माथि संकलन गर्दे आएको छ ।

स्थानीयले भने, ‘नगरले हाट र भिटौरी कर संकलन गर्छ तर झिलझिले बजारको टहराको जिर्णोद्वार गर्देन ।’ यो वर्ष पनि नगरले ५ लाख ७६ हजारमा ठेक्का मार्फत झिलझिले बजारको हाटकर संकलन गरेको थियो । शिवशक्ति मन्दिरका अध्यक्ष तीर्थबहादुर खड्काका अनुसार झिलझिले बजारबाट मात्रै नगरले कम्तिमा २५ लाख रुपैयाँ साप्ताहिक हाटकर संकलन गरिसकेको छ ।

शिवसताक्षी नगरले पनि जीर्ण बन्दै गएका नगरभित्रका बजारको टहराको जिर्णोद्वार गर्दे आएको बताएको छ । यसअघि मागका आधार झिलझिले बाहेकका बजारमा टहराको जिर्णोद्वार भएको नगरकी उपप्रमुख नेपालले बताइन् ।

उनले भनिन्, ‘झिलझिले बजारको टहरा जीर्ण भएको नगरलाई जानकारी भए पनि मर्मत संभारका लागि लिखित माग स्थानीय उपभोक्ताबाट नआएकोले विलम्व भएको हो ।’ उनले अब झिलझिले बजारको टहराको जिर्णोद्वार नगर कार्यपालिकाको बोर्ड बैठकले स्थानीय उपभोक्ताको मागको आधारमा निर्णय गरेर आवश्यक रकम विनियोजन गर्ने बताइन् । त्यसपछि झिलझिले बजारको मुहार परिवर्तन हुने उनको दाबी छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य झलकबहादुर दर्लामी मगरले झिलझिले बजारको टहराको तत्काल जिर्णोद्वार गर्नुपर्ने बताए । उनले ट्रष्ट निर्माण गरेर व्यापारीलाई स्टल बिक्री गर्नुपर्ने सुझाव दिएका छन । ११ कट्ठा क्षेत्रमा फैलिएको झिलझिले बजारको रुप परिवर्तन गर्न हाटखोलाको चारैतिर ड्रेन र शौचालय अनि बीचमा पार्किङ्ग टायल्स लगाएर बजारको सौन्दर्यता थप्नुपर्ने उनले बताए ।

झिलझिले बजारको हाटखोलाको पुनर्निर्माणका लागि संघीय सांसद एलपी साँवा लिम्बूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट १० लाख विनियोजन गरेका छन् । आवश्यक्ताअनुसार प्रदेश सांसदले पनि रकम विनियोजन गरी झिलझिले हाटखोलाको टहरा निर्माण गर्ने बताए ।