विनोद सापकोटा,
झापा । यो वर्ष झापामा धान उत्पादन घटेको छ । समयमै वर्षा र मलखादको व्यवस्थापन नहुँदा धान उत्पादन घटेको हो ।

तर, अनुमान गरेको भन्दा धानको उत्पादन नघटेको कृषि ज्ञान केन्द्र झापाका कृषि विकास अधिकृत निलकमल सिंहले जानकारी दिए । यो वर्ष साउनको दोस्रो सातादेखि मात्र खेती गर्न योग्य वर्षा भएको थियो । अघिल्ला वर्षमा असार १५ देखि नै धान रोपाइँ हुने गरेको थियो । ढिलो तर पर्याप्त पानी परेकाले खेतीयोग्य जमिन बाँझो नरहे पनि धान उत्पादन भने केही घटेको उनले जानकारी दिए ।

मनसुनलगायत धानलाई आवश्यक मलखादको अभाव हुँदा पनि जिल्लामा धानको उत्पादन केही घटेको हो । यो वर्ष जिल्लामा ८४ हजार ८७५ हेक्टर क्षेत्रमा विभिन्न जातका धानको खेती भएको थियो । केन्द्रका प्रमुख सिंहका अनुसार जिल्लामा ३ लाख ८१ हजार ९३७.५ मेट्रिकटन धान उत्पादन भएको छ । समग्र जिल्लामा प्रतिहेक्टर ४.५ मेट्रिकटन धान उत्पादन भएको उनले बताए ।

गतवर्ष जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती भएको थियो । त्यसताका प्रतिहेक्टर ४.६ मेट्रिकटनका दरले कुल ४ लाख २ हजार ५०० धान उत्पादन भएको थियो । उनले भने, ‘यो वर्ष २ हजार ६२५ हेक्टरमा धान खेती भएन । समयमा वर्षा नहुँदा कम्तिमा ५ सय हेक्टर धान खेती निजी वनमा परिणत भए ।’

त्यस्तै त्यति नै क्षेत्रमा बाटो र स्थायी प्रकृतिका संरचना निर्माण भए । बाँकी रहेको जग्गामा किसानले मत्स्यपालन, उखु खेती, केरा खेती लगायत बेमौसमी तरकारीबाली लगाएकाले धानको उत्पादन अघिल्ला वर्षको तुलनामा घटेको उनको भनाइ छ । उनले भने, ‘धान उत्पादन घट्नुको मुख्य कारण अन्य कुनै कारणले नभएर यहि नै हो ।’

गतवर्षको तुलनामा यो वर्ष प्रतिहेक्टर ०.१ मेट्रिकटनका दरले धान उत्पादन घटेको छ । सबैभन्दा धेरै रञ्जीत धानको खेती हुने गरेको झापामा बास्मती, सावा मन्सुली, स्वर्ण सव वान, सुख्खा ३, राम धान लगायतका जातको रोपाइँ हुने गरेको छ । तर, रञ्जीत धान नेपालमा सिफारिस भएको छैन । भारतीय यो धान उसकै मुलुकमा समेत प्रतिबन्धित रहेको कृिष विज्ञले बताएका छन् ।

जिल्लामा धान उत्पादन घटे पनि शिवसताक्षी नगरमा भने गतवर्षको तुलनामा बृद्धि भएको छ । नगरको ५ हजार ६५६.३३ हेक्टर खेतीमा धान रोपाइँ हुने गरेको छ । नगरकी कृषि विकास शाखाकी प्रमुख जानुका श्रेष्ठका अनुसार २७ हजार ६१२.६५ मेट्रिकटन धान शिवसताक्षी नगरमा उत्पादन भयो । उनले भनिन, ‘प्रतिहेक्टर ४.ं८८ मेट्रिकटन धान शिवसताक्षी नगरमा उत्पादन भएको छ । गतवर्ष प्रतिहेक्टर ४.७८ मेट्रिकटन धान उत्पादन भएको थियो ।’

नगरको वडा नम्बर ३,४, ५, ६ र ७ नम्बर वडामा कनकाई सिँचाई प्रणालीको नहरबाट पानी पूर्ण सिञ्चित हुने गरेको छ । यस्तै वडा नम्बर २, ९ र १० मा आंशिक सिँचाई हुने गरेको छ भने बाँकी ११, ८ र १ आकासे पानीको भरमा खेती हुने वडा हुन् । समयमा पानी र मलखाद अनि धानका बोटमा कुनै रोग वा कीराले आक्रमण नगर्दा उत्पादन बढ्ने उनले बताइन् । शिवसताक्षी नगरमा पनि रञ्जीत धानको सर्वाधिक रोपाइँ हुने गरेको छ ।