इलाम । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले प्रदेश विकासका लागि कृषि, पर्यटन र जलश्रोतलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

प्रदेश १ कृषि, पर्यटन र औधोगिक क्षेत्रको हिसाबले अथाह संभावना रहेकाले सो क्षेत्र लगानीको पहिलो प्राथमिकतामा राखिएको बताएका हुन्। उनले प्रदेश १ चियामा मात्र नभई अलैँची र रुद्राक्ष जस्ता कृषिजन्य वस्तुको समेत राजधानी भएको बताए। सूर्योदय नगरपालिकाको आयोजनामा भएको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव उद्घाटन समारोहलाई सम्वोधन गर्दै राईले ओलाङचुङगोला र किमाथाङका नाका प्रदेश १ को मेरुदण्ड भएको बताए।

भारतको तीनवटा प्रदेश र चीनसँग समेत प्रदेश १ जोडिएकोले उत्तर(दक्षिणको सम्वन्धलाई समेत सहयोग पुग्ने राईले बताए। उनले गाउँमा बस्ने तल्लो तहका जनताको अधिकार र मागलाई सिंहदरबारले सम्वोधन गर्न नसकेको कारण संघीयताको परिकल्पना गरिएको बताए। प्रदेश विकास समृद्धिको पंचवर्षे योजना र निती निर्माण गरिएको उल्लेख गर्दै उनले हिमाल पहाड र तराई जोडिएको यो प्रदेश सवै क्षेत्रबाट सम्भाव्यता खोजिका लागि महत्वपूर्ण हुने बताए।

लामो समयको प्रयासपछि मुलुक संघीयतामा प्रवेश गरेर स्थायी सरकार आएकाले विकास र समृद्धिमा फडर्को मार्ने बताए। चार दिनसम्म चल्ने महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

नगरका ६ स्थानमा चल्ने महोत्सवमा स्थानीय परिकार र कला संस्कृतिको प्रवर्द्धन गरिने छ। महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा मुख्यमन्त्री राईले श्रीअन्तुमा रहेको अन्तु पोखरीमा फिसिङका साथै लोपोन्मुख लेप्चा जातिको संग्राहलय पनि उद्घाटन गरेको थाहा खबरमा समाचार छ ।