आनन्द गौतम,
ताप्लेजुङ । सीता एयरलाइन्सले मंगलबार एक नम्बर प्रदेशका तीन वटा विमानस्थलमा परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुंगाको रुम्जाटार विमानस्थलमा परीक्षण उडान गरिएको हो । एयरलाइन्सका म्यानेजर रिजेश थापाका अनुसार तीनै वटाका परीक्षण सफल भएका छन् ।

प्रदेश राजधानी विराटनगरवाट ताप्लेजुङको सुकेटार विमानस्थलमा २० मिनेटमा अवतरण भएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले बताए। मुरारकाका अनुसार मंगलबार बिहान परिक्षण गरिने भनिएपनि मौसमका कारण दिउँसो ३ बजेमात्रै जहाज अवतरण गरिएको थियो। चालक रोशन नेपाली कोइराला र रविन्द्र डंगोलले गरेका उडानमा चालकसहित ८ जना थिए।

काठमाडौंबाट उडेको जहाज पहिला रुम्जाटार गएको थियो। त्यहाँबाट लामिडाँडा पुगेको विमान सिधैं सुकेटार आउने प्रयास गरे पनि मौसमका कारण विराटनगरमा गएर प्रतिक्षा गरेको थियो।

आगामी मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसीमा तिर्थयात्री ओसार्ने योजनाका साथ परिक्षण गरिएको हो। यसको नेतृत्व एक नम्बर प्रदेशको विराट होलिडे ग्रुपले गरेको छ। होलिडे ग्रुपका अध्यक्ष भविन श्रेष्ठका अनुसार दुईमहिना प्याकेजमा चलाउने र त्यसपछि नियमित गर्ने उद्देश्य रहेको छ।

‘एक नम्बर प्रदेश एयरपोर्ट भएरपनि जहाज सञ्चालन गर्न काठमाडौंको भर पर्नुपर्‍यो,’ श्रेष्ठले भने, ‘यो दुइ महिनामा विराटनगरबाट आफ्नो प्रदेशभरि जहाज चल्छ भनेर प्रष्ट्याउन चाहन्छौं।’

दुई महिनाको अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकप्टरमा पाथीभरा दर्शनकालागि तिर्थयात्री लैजाने उद्देश्य रहेको श्रेष्ठले बताए। कान्तिपुर दैनिकबाट