0 Shares

विनोद सापकोटा,
झापा । कृषि तालिमका लागि कोरियाली सरकार अन्य मुलुकबाट भन्दा नेपालबाटै बढी संख्यामा प्रशिक्षार्थी कोरिया लैजान इच्छुक देखिएको छ । अन्य मुलुकका नागरिकभन्दा नेपालका नागरिक बढी इमान्दार र भरपर्दा देखिएकाले बढी संख्यामा नेपालीलाई कोरिया लैजान त्यहाँको सरकार तयार देखिएको हो ।

कोरियाली सरकारले कृषि तालिमका लागि विभिन्न ८ वटा देशबाट २५९७ जना प्रशिक्षार्थी माग गरेको छ । त्यसमध्ये नेपालबाट मात्रै ४ वटा जिल्ला छनौटमा परेको कोरियाली सरकारका अन्तर्राट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवले बताए । उनले भने, ‘झापा, धादिङ्ग, धनगढी र नेपालगञ्जबाट कृषि तालिमका लागि प्रशिक्षार्थी लैजान कोरिया सरकारले कानुनी आधार खडा गरिसकेको छ ।’

झापाको शिवसताक्षी नगरपालिकाका कम्तिमा १ सय किसानलाई कोरिया लैजान आफू तयार रहेको होङ्ग सुङ्ग युवले बताए । भाषा परीक्षा उत्तीर्ण गर्नु नपर्ने, कोरिया जाँदाको टिकट तालिम प्रदायक कोरियाली कम्पनीले व्यहोर्ने र फर्कदा प्रशिक्षार्थी आफैँले टिकट गर्नुपर्ने बताइएको छ । बढीमा ६ महिनासम्म सञ्चालन हुने तालिममा प्रशिक्षार्थीले प्रतिमहिना नेपाली १ लाख ८० हजार पाउने होङ्गले बताए ।

‘हामी जनवरीदेखि स्थानीय पालिकासँग समन्वय गरेर प्रशिक्षार्थीको डकुमेन्ट कलेक्सन गर्ने छौँ’, उनले भने, ‘मार्चसम्ममा सबै प्रशिक्षार्थी कोरिया पुर्याउने तयारी त्यहाँको सरकारले गरेको छ ।’ प्रशिक्षार्थीका दुई वटा वीमा हुने पनि उनले बताए । ‘स्वास्थ्य र जीवन वीमा त्यहाँको तालिम प्रदायक कम्पनीले गर्नेछ’, उनले भने । ३५ वर्षदेखि ५० वर्ष उमेर ननाघेका नेपाली कोरिया गएर कृषि तालिममा प्रशिक्षित हुनेछन् ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको कार्यकक्षमा शुक्रबार भएको साक्षात्कारमा तालिम प्रदायक कम्पनीका तर्फबाट हङ्ग सुङ्ग युवले नेपालीले कोरियामा इमान्दार भनेर पहिचान बनाएको भन्दै अन्य मुलुकबाट भन्दा बढी संख्यामा प्रशिक्षार्थी लैजानेमा विश्वास दिलाए । उनले भने, ‘कोरियाली सरकारको कानुन पालना गर्ने शर्तबाहेक अन्य विषयमा सम्झौता गर्नु पर्दैन ।’

नगर प्रमुख शेर्माले कोरियाली सरकारले झापाको शिवसताक्षीलाई कृषि तालिमका लागि छनौट गरेकोमा कोरियाली सरकारका अन्तर्राष्ट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवमार्फत त्यहाँको स्थानीय सरकारलाई धन्यवाद दिए । उनले भने, ‘नगरलाई यो अवसर जुट्दा शिवसताक्षी नगरका हामी नगरबासी धन्य छौँ ।’ कोरियामा सिकेको सीपलाई फर्किएर आफ्नै भूमिमा आएपछि प्रशिक्षार्थीले व्यवहारमा उतारेर नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्नुपर्ने नगरप्रमुख शेर्माले बताए ।

‘नगरले प्रशिक्षार्थी छनौट प्रत्येक वडाबाट दामासाहीले छनौट गर्छ, त्यसपछि तालिम प्रदायक कम्पनी र कोरियाली सरकारले पनि छनौट गर्ने हुदाँ यहाँ सबैलाई समान अधिकार र अवसर छ’, नगर प्रमुख शेर्माले भने, कुनै कारणले पनि नगरबासीको यो अवसर गुम्न दिनु हुँदैन ।’

कोरियाली मुलुकबाट प्रशिक्षार्थी माग गर्दे शिवसताक्षी नगरपालिका आइपुगेको अन्तर्राट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवको टोलीलाई नगर प्रमुख शेर्माले नगरको कृषि पकेट क्षेत्रको अध्ययन अवलोकन गराएका थिए ।