झिलझिले । बजारमा म्याद नाघेका र लेवल नभएका सामानको खरिद बिक्री नियन्त्रण गरी नगरका उपभोक्ताको स्वास्थ्यसम्बन्धिको अधिकार रक्षा गर्न शिवसताक्षी नगरले बजार अनुगमनलाई तिव्रता दिएको छ ।
शिवसताक्षी नगरको वडा नम्बर २ स्थित मंगलबारे बजार र वडा नम्बर ३ को पारावारी बजारमा आइतबार र सोमबार नगरको उपभोक्ता संरक्षण हित समिति र बजार अनुगमनको संयुक्त टोलीले आकस्मिक अनुगमन गरेको हो । उपभोक्ता हित संरक्षण समितिकी संयोजक नगरकी उपप्रमुख भोजकुमारी नेपालको नेतृत्वमा गएको बजार अनुगमन टोलीले बजारमा लेवल नलगाइएका र म्याद गुज्रिएका पदार्थ नष्ट गरेको थियो ।
मंगलबारे बजारमा प्रहरीसहितको टोलीले म्याद गुज्रिएको पेय पदार्थ नष्ट गर्यो । बजार अनुगमनका क्रममा नगरमा दर्ता नगरी सञ्चालनमा आएका व्यापारी फर्मलाई तत्कालन कानुनी प्रक्रिया पुर्याउन टोलीले सुझाव दिएको थियो । कतिपय व्यापारीले पान नम्बर बिनै कारोबार गरिरहेको पनि फेला परेको अनुगमन समितिकी संयोजक उपमेयर नेपालले बताइन् ।
उनले भनिन्, ‘वहाँहरुलाई नगरमा आफूले सञ्चालन गरेका व्यावसायिक फर्म दर्ता गर्नुका साथै पान नम्बर लिएर व्यवसाय सञ्चालन गर्न सुझाव दिएका छौँ ।’
समितिले खाद्यान्न, औषधि, एग्रो भेट्स, होटल, डेरी, मासु पसललगायतको अनुगमन गरेको थियो । अनुगमनमा २ नम्बर वडाका अध्यक्ष कुलबहादुर बस्नेत, स्वास्थ्य शाखाका हरि विमली, पशु शाखाका रामअवतार यादव, उद्योग वाणिज्य संघका भोजराज ढकाल, नगरको योजना शाखाका दिनेश लुइटेल, प्रशासनका प्रकाश चित्रकार र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरीको टोली थियो ।