झापा । भारतीय उद्योग संगठन (कन्फिडेरेसन अफ इन्डियन इन्डष्ट्रीज) सिलिगुडी र मेची उद्योग वाणिज्य संघले आज द्विदेशीय व्यापार र सहयोगको आदान प्रदान कसरी चुस्त बनाउन सकिन्छ भन्ने बारे छलफल चलाएको छ ।

आउँदै गरेको तेस्रो अन्तर्राष्ट्रिय उद्योग, व्यापार, कृषि तथा पर्यटन महोत्सव तथा डिसेम्बर २१ मा सिलिगुडीमा हुने नर्थ बेङ्गाल कन्क्लेभ एक्सपर्ट प्रमोसन एण्ड लडिष्टिक रोडसो लाई लक्षित गर्दै मेची उद्योग वाणिज्य संघको कार्यालय धुलाबारीमा उक्त छलफल सम्पन्न भएको हो । कार्यक्रममा नेपाल र भारतविच आयात निर्यातको अवस्था तथा यसको प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने विषयको पेरिफेरीमा चर्चा भएको थियो ।

नेपाली उत्पादनले भारतको भन्सार तथा ल्याबमा भोग्नु परेको समस्या तथा उक्त समस्याको निराकरणको निम्ति गरिनुपर्ने विषयको पाटोबाट मेची उद्योग वाणिज्य संघका सचिव रवि नेपालले कुरा उठान गर्नुभएको थियो । त्यस्तै क्वारेन्टाईन, स्थानिय सेन्डिगेटको समस्या तथा नेपाली व्यवासायीले भोग्नु पर्ने अन्य समस्याको विषयमा संघका बरिष्ठ उपाध्यक्ष मोहन निरौलाले कुरा राख्नु भएको थियो । संघका महासचिव ध्रुव कनालले समस्याको दिर्घकालिन समाधान गर्ने उपायहरुको बारेमा चर्चा गर्नुभएको थियो ।

नेपाल चिया तथा कफी विकास बोर्डका इन्द्रप्रसाद अधिकारीले चियामा हुनुपर्ने आवश्यक सहर्कायको निम्ति समेत अह्वान गर्नु भएको थियो । सिआईआईबाट चिया डिपार्टका संयोजक सतिस मित्रुकाले चिया समस्या तथा नेपालले गर्नुपर्ने आगामी कदमहरुको विषयमा प्रष्ट्याउनु भएको थियो । त्यस्तै सिआईआईका पूर्व अध्यक्ष नरेस अग्रवालले नेपाली बजार र भारतीय बजार विचको दुरी धेरै कम भएकोले उत्पादनहरु एक आपसमा आयत निर्यात गर्दा विश्वासिलो वातावरणको सिर्जना गर्न महोत्सव तथा रोडसो जस्तो दुवै कार्यक्रमले जोड्ने बताउनुभयो ।

सिआईआईका कृषि विभागका सञ्जय तेब्रिवालले पर्यटन, कृषिजन्य उन्पादन, नेपाल आयन निगमका समस्या, खाद्यान्न तथा अन्य सामाग्रीहरुको आयात निर्यात सम्बन्धि सिलिगुडिमा हुन लागेको कार्यक्रमले ठूलो महत्व राख्ने साथै एसियन हाईवेले जोड्ने नेपाल, भारत, बंलादेश तथा भुटानसँगको व्यापार सम्बन्धको विषयमा समेत छलफल हुने हुँदा उपस्थितिको लागि नेपालका प्रतिनिधिहरुलाई निम्तो गर्नुभयो । छलफलमा दुवै ठाँउमा हुन लागेको महोत्सव तथा रोडसोको विषयमा कसरी प्रभावकारी र उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा समेत राय साटासाट भएको थियो ।