0 Shares

झापा । अर्जुनधारा नगरपालिकामा विनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिँचाइ र उपकरण माग भएको छ । नगरपालिकाले आह्वान गरेको समयमा विभिन्न समूह, ब्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दिपक गिरीले जानकारी दिए ।

नगरले १५ लाख रुपैयाँ विनियोजन गरेर सार्वजनिक गरेको सूचनाका आधारमा ७२ लाख ५४ हजार ८२५ रुपैयाँबराबरको आवेदन परेको हो । आवेदन गर्नेमा अधिकांश कृषक समूह रहेका छन् । केही ब्यावसायिक कृषि फर्मले पैनी मर्मत र मोटर खरिदका लागि माग गरेको भए पनि कृषि सहकारीको उपस्थिति नगन्यमात्रामा रहेको पाइएको छ ।

नगरपालिकाले कात्तिक १८ गतेदेखि १ महिनाको म्याद राखेर सिँचाइ आवश्यक पर्ने किसानलाई आवेदन दिन सूचित गरेको थियो । सो समयमा परेका निवेदनमाथि अध्ययन शुरु गरिएको शाखा प्रमुख गिरीले बताए । उनले लाभान्वित हुने जनसंख्या, उत्पादन र प्रभावकारिताका आधारमा परियोजना छनौट गरिने बताए । ब्यावसायिक तरकारी खेती र फलफूल उत्पादनलाई प्राथमिकता दिएर सिँचाइको सुविधा उपलब्ध गराउने उनको भनाइ छ ।

अनुदान लिने र सदुपयोग नगर्ने परिपाटी विकास भएपछि नगरपालिकाले अनुगमन शुरु गरेको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले बताए । फिल्डबाटै अध्ययन गरेर सिँचाइको आवश्यकता अध्ययन गरेपछि अन्य श्रोतबाट बजेट जुटाउन पहल गर्ने उनको भनाइ थियो । नगरपालिकाको मुख्य ध्यान त्यस स्थानमा कृषिको बिकास गर्नका लागि भएको भन्दै मेयर रानाले वास्तविक किसानसम्म राज्यको पहुँच पुर्याउन आफैँ अनुगमनमा निस्किएको बताए ।

कृषिमा पनि खासगरी मासु, दूध, धान, मकै, तरकारी र फलफूलको लागि पकेट क्षेत्र घोषणा गरेर तीव्र गतिमा कार्यान्वयन गरिरहेको मेयर रानाको दाबी छ । यसैबीच, उपमेयर कमला खतिवडाले प्राथमिकताको क्षेत्रअनुसार किसानलाई अनुदान दिने बताइन् । उनले सरकारको अनुदान वास्तविक किसानसम्म पुर्याउने नगरपालिकाको योजना भएकाले अनुदान रकमलाई हौसलाका रुपमा लिन समेत आग्रह गरिन् ।