अर्जुनधारा । वित्तीय कारोबार गर्दै उत्कृष्ट बनेका विभिन्न व्यक्तिलाई सम्मान गर्दै झापा बिर्तामोड-४ मा रहेको त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

सम्मानित हुने व्यक्तित्वहरुमा ज्येष्ठ शेयर सदस्यद्वय बेनुप्रसाद पनेरु र रामचन्द्र गिरी, बाल बचतकर्तातर्फ अस्मी तामाङ, अंशु भट्टराई, सन्देश राई र हार्दिक खरेल, आवधिक बचतकर्तातर्फ ठूलीकान्छी राई, पूष्पराज भण्डारी, मन्दा उप्रेती, मनोज रञ्जितकार, लक्ष्मी श्रेष्ठ, विष्णु राजवंशी र वेदकुमारी आले रहेका छन् ।

त्यस्तै, अन्य सम्मानित हुनेहरुमा उत्कृष्ट उद्यमीतर्फ अमितकुमार गुप्ता, मुना श्रेष्ठ र शान्ता श्रेष्ठ तथा उत्कृष्ट कर्मचारीतर्फ अर्जुनकुमारी खरेल र कमला थापा रहेका छन् ।

संस्था सञ्चालक समितिका अध्यक्ष केशवकुमार खड्काको अध्यक्षता र झापा जिल्ला सहकारी संघ लेखा समितिकी सदस्य पम्फा विश्वकर्माको प्रमुख आतिथ्यमा अर्जुनधारामा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष विजयकुमार राजवंशीले व्यक्त गरेका थिए ।

सभामा समितिका अध्यक्ष खड्काले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक गणेशबहादुर रायाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार जम्मा चुक्ता शेयर पूँजी ६० लाख २८ हजार रुपैयाँ रहेको संस्थाको गत आर्थिक वर्ष ०७५/०७६ को जम्मा आम्दानी ४३ लाख ९३ हजार ७६६ रुपैयाँ, जम्मा खर्च ४१ लाख ८१ हजार ५५४ रुपैयाँ ९४ पैसा र खुद नाफा एक लाख ६९ हजार ७६८ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा एक करोड ९९ लाख १७ हजार ३२ रुपैयाँ निक्षेप संकलन र तीन करोड २३ लाख ९१ हजार ३५२ रुपैयाँ कर्जा लगानी गरेको संस्थाले चालु आर्थिक वर्ष ०७६/०७७ को लागि अनुमानित ७२ लाख २२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रमहरु प्रतिवेदनमा उल्लेख गरेको छ ।

सभामा नगर सहकारी समन्वय समितिका संयोजक प्रेमसागर सापकोटा, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द खतिवडा, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीलगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन व्यवस्थापक चन्द्रदास खरेलले गरेका थिए ।