0 Shares

झापा । यही पुस ९ गतेदेखि झापाको धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक मेची उद्योग वाणिज्य संघको सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको अन्तिम तयारी तिव्र पारिएको जनाएको हो । महोत्सवमा २ सय वटा स्टल राखिने टुंगो भइसकेको छ । अन्तर्राष्ट्रिय व्यापारका लागि भारत, बंगलादेश र भुटान लगायतका २५ वटा स्टल बुक भइसकेका छन् ।

स्टलमा कृषि उपज, विभिन्न खाद्यान्न तथा कृषि औजार, अटो मोवाईल, बैँक, वित्तिय संस्था तथा अन्तर्राष्ट्रिय उत्पादनका विभिन्न सामाग्री रहने बताइएको छ । महोत्सव सफल पार्न करिब ६० लाख रुपैयाँ खर्च पूर्वानुमान गरिएको छ ।

महोत्सवमा झापा जिल्लाका १५ वटै स्थानीय तहमा उत्पादन हुने कृषि उपजलाई समेत प्राथमिकता दिएर प्रचार–प्रसार गरिने बताइएको छ । नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट १ लाख ५० हजार पर्यटक अवलोकनकर्ताका रुपमा सहभागी हुने आयोजक समितिका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो ।

आयोजकले ६ हजार रुपैयाँमा हेलिकोप्टरबाट झापा जिल्लाको अवलोकन गराउने भएको छ । यो सँगै महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । यसअघि संघले धुलाबारीमै २०७० सालमा दोस्रो र त्यसअघि बिर्तामोडमा प्रथम महोत्सव सम्पन्न गरिसकेको छ ।