झापा । अर्जुनधारा-८ स्थित शनिश्चरे बजारमा प्रधान कार्यालय रहेको जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले अब बचत तथा ऋणको कारोबार गर्ने भएको छ ।

संस्थाको १५औं साधारणसभा पेश भएको यो प्रस्ताव आइतबार स्वीकृत भएको छ । सहकारी ऐनले विभिन्न नीति अवलम्वन गरेपछि बहुउद्देश्यीयको रुपमा कारोबार गर्न साना तथा मझौला सहकारीलाई कठिन भएको भन्दै संस्था सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाले प्रस्ताव पेश गरेका थिए ।

साधारणसभाबाट प्रस्ताव स्वीकृत भइसके पनि बचत तथा ऋण सहकारीको रुपमा कारोबार गर्नुअघि व्यापक छलफल गरिने संस्थाका उपाध्यक्ष दिलिप गुरुङले बताए ।

सभामा समितिका अध्यक्ष खतिवडाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जम्मा चुक्ता शेयर पूँजी एक करोड ४४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षमा १० करोड ९८ लाख ७२ हजार ३५६ रुपैयाँ बचत संकलन गरी १० करोड ७१ लख ५६ हजार १५६ रुपैयाँ बचत फिर्ता र सात करोड तीन लाख ३१ हजार ८५० रुपैयाँ ऋण लगानी गरी छ करोड १९ लाख ८४ हजार ८५० रुपैयाँ ऋण असुली गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षको जम्मा आम्दानी एक करोड २२ लाख ८९ हजार ८४ रुपैयाँ र जम्मा खर्च एक करोड १० लाख ६३ हजार ७८ रुपैयाँ ७० पैसा रहेको संस्थाको शुद्ध नाफा नौ लाख ८० हजार ८०४ रुपैयाँ ३० पैसा रहेको छ ।

झापा जिल्ला सहकारी संघका सदस्य टंक बरालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य सदस्य कुमार भट्टराईले व्यक्त गरेका थिए । सोही सभामा ज्येष्ठ शेयर सदस्यद्वय खगेन्द्रकुमार पौड्याल र सूर्यबहादुर कार्की, असल उद्यमीहरु मनकुमारी कार्की बुढाथोकी, मिना प्रसाईं, शम्भु सहनी र सुनिता तामाङ, उत्कृष्ट बचतकर्ताहरु कृतिका खड्का विष्ट, दिनेश दास दियाली, महम्मद नइन र सुभद्रा देवलाई सम्मान गरिएको थियो ।

त्यस्तै गत वर्षको एसईई परीक्षामा शेयर सदस्यका सन्तनामध्ये उत्कृष्ट जीपीए ल्याई उत्तीर्ण हुने अनिश भण्डारीलाई नगद पाँच हजारबाट पुरस्कृत गरिएको थियो ।