इलाम । केही वर्षयता इलाममा व्यापक मात्रामा उत्पादन भइरहेको भुइँ स्याउ (ग्राउण्ड एप्पल) ले बजार पाउन सकेको छैन ।
पोषणयुक्त फलको रुपमा मानिने भुइँ स्याउ विक्री हुन छाडेपछि किसानले वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् ।
देउमाई नगरपालिका २ का किसान मदन मुखियाले वितगका वर्षमा प्रशस्तै विक्री भएको तर यो वर्ष भुइँ स्याउले कम बजार पाएको बताए ।
भुइँ स्याउलाई सिधै काटेर सलादको रुपमा खान सकिने भए पनि यसको उपयोग होटल व्यवसायमा पनि खासै हुन नसकेको किसान बताउँछन् ।
भुइँ स्याउलाई जुस, वाइन बनाउने कच्चा पदार्थको रुपमा लिने गरिन्छ । इलाम जिल्लाको उत्तरी क्षेत्रमा भुइँ स्याउको बढी उत्पादन हुने गरेको छ ।