कोकिला ढकाल,
इलाम । आम्दानीको मुख्य स्रोत रहेको अदुवाको बीउको मूल्य राम्रो भएपछि किसानहरू दङ्ग भएका छन् ।

विगत वर्षमा अदुवा निकासीमा भएको पटक–पटकको अवरोधले तर्सिएका किसानले अदुवा कम रोपेपछि यो वर्ष सिजनको सुरुमै बीउको मूल्य उच्च भएको छ ।

गतवर्ष किसानले अदुवाको खेती कम गरेपछि उत्पादन कम हुनु र बीउको माग बढी हुनुले माघको पहिलो सातामै बीउको मूल्य बढी भएको व्यापारीहरू बताउँछन् । यो वर्ष प्रतिमन चार हजार पाँच सय रुपियाँका दरले अदुवाको बीउ खरिद–बिक्री भइरहेको छ ।

मुख्य सिजन माघको सुरुमै बीउको मूल्य राम्रो हुँदा यसपटक भने अदुवाबाट प्रत्यक्ष फाइदा किसानलाई मिलेको सूर्योदय नगरपालिका १२ का किसान भीम राईले बताउनुभयो । फागुनदेखि जेठ महिनासम्म रोपिने अदुवाको असारदेखि भदौसम्म किसानहरूले माउ निकालेर बिक्री गर्ने गरेका छन् । कात्तिकमा नयाँ अदुवा र यतिबेला बीउको अदुवा बिक्री गर्दा अदुवाबाट किसानलाई राम्रो फाइदा मिलेको किसान राईको भनाइ छ ।

बीउ अदुवा, बुढी अदुवा, कात्तिकमा खनिने बच्चा र अहिलेको बीउ अदुवा कुनैबाट पनि किसानलाई घाटा छैन, राईले भन्नुभयो तर अदुवा खेतीमा हामीजस्ता साना किसानले कसैबाट सहयोग भने पाउन सकेका छैनौँ ।

यता इलाम नगरपालिका ५ का किसान सामवेद चापागाईंलाई पनि अहिले अदुवाको बीउ खन्न भ्याई नभ्याई छ । गतवर्ष २५ मन अदुवा रोपेको थिएँ, करिब पाँच मनका दरले उत्पादन भयो, चापागाईंले भन्नुभयो, यो वर्ष पनि २० देखि २५ मन अदुवा रोप्ने तयारी गरेको छु ।

गतवर्ष प्रतिमन पाँच हजार दुई सय रुपियाँका दरले बीउ बिक्री गरेको चापागाईंले यो वर्ष अझ मूल्य बढ्ने सङ्केत देखिएको बताउनुभयो । अहिले नै मूल्य प्रतिमन चार हजार रुपियाँमाथि छ, पछि चैत वैशाख हुँदा अझ मूल्य बढ्ने सम्भावना रहेको चापागाईं बताउनुहुन्छ ।

इलामको अदुवा रेशादार र राम्रो भएकाले बाहिरबाट माग बढी आउने गरेको व्यापारीहरू बताउँछन् । यो वर्ष सिजनको सुरुमै अदुवाको मूल्य यसरी बढ्दा किसान तथा व्यापारीलाई पनि राहत मिलेको इलाम बिल्याँटेका व्यापारी कर्ण साम्पाङ्गले बताउनुभयो । यो वर्ष भारतको अदुवा कम उत्पादन भएको र नेपाली किसानले पनि गतवर्ष कम खेती गरेपछि माग उच्च भएपछि विदेश निर्यात हुने अदुवाको मूल्य राम्रो हुने साम्पाङ्गको बुझाइ छ ।

इलाममा स्थानीय जातकै अदुवाको बढी खेती हुने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा तीन हजार २३३ हेक्टरमा ४५ हजार ८९० मेक्ट्रिकटन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

इलामसहित पूर्वाञ्चलका धनकुटा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा उत्पादित अदुवा भारतको सिलिगुढी निकासी भएर तेस्रो मुलुक बङ्गलादेश, पाकिस्तानसम्म जाने गरेको गोरखापत्र दैनिकमा खबर छ ।